किसानले २७० मा बेच्ने कुखुराको मासु उपभोक्ताले ४४५ मा किन्ने : मोटाउने बिचौलिया

मुलुकमा सबैभन्दा बढी खपत हुने कुखुराको मासुको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । काठमाडौं उपत्यकाका लागि कुखुरा व्यवसायी संघले प्रतिकिलो ४ सय ३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । तर, बजारमा ४ सय ४५ रुपैयाँ प्रतिकिलोसम्म बिक्री भइरहेको छ । एक महिनाअघि ३ सय रुपैयाँआसपास थियो ।

संघ अध्यक्ष जंगबहादुर विसीले मागअनुसार आपूर्ति हुन नसक्दा बजारभाउ आकासिएको दाबी गरे । ‘काठमाडौंमा मात्र ५ लाख किलो कुखुराको मासु दैनिक खपत हुन्छ । अहिले ३५ प्रतिशत कम आपूर्ति भइरहेको छ,’ विसीले भने, ‘त्यसैले मूल्यमा चाप बढेको हो ।’ उनका अनुसार देशभर ८ लाख किलो कुखुराको मासु दैनिक खपत हुने गरेको छ ।

दुई महिनाअघिबाट काठमाडौंआसपास बर्डफ्लुको संक्रमण देखिन थालेको छ । बर्डफ्लुको त्रासले किसानले अहिले नयाँ चल्ला खोरमा नहालेको र तराईका किसानबाट काठमाडौंमा कुखुरा आपूर्ति भइरहेको संघको भनाइ छ । बजारभाउ उच्च बिन्दुमा पुगे पनि कुखुरापालक किसानहरू भने खुसी छैनन् । राष्ट्रिय कुखुरापालक संघका अध्यक्ष झनक पौडेलले हाल तराईका किसानले २ सय ७० रुपैयाँ प्रतिकिलो भाउ पाइरहेको बताए । ‘अहिले कुखुरापालक किसानले जुन भाउ पाइरहेका छन्, यो हालसम्मकै धेरै हो,’ उनले भने, ‘तर, दाना र चल्लाको भाउ पनि यही मौकामा व्यवसायीले बढाइदिएका छन् । त्यसैले खासै खुसी हुने अवस्था छैन ।’

किसानले बिक्री गरेको मूल्यमा प्रतिकिलो १ सय रुपैयाँ बढीमा उपभोक्ताले कुखुराको मासु खरिद गर्न पाउने चल्ला, दाना, कुखुरा र कोल्ड स्टोर व्यवसायीबीच भद्र सहमति छ । तर, अहिले किसानले बेचेभन्दा डेढ सय रुपैयाँ बढी मूल्यमा उपभोक्ता मूल्य तोकिएपछि किसानहरूले असन्तुष्टि जनाएका छन् । ‘किसानले बेचेको तुलनामा उपभोक्ताले कुखुराको मासुका लागि तिरिरहेको मूल्य उच्च हो । व्यवसायीले यति धेरै बदमासी गर्नुहुन्न,’ पौडेलले भने । कुखुराको मासुको भाउ बढेपछि ५६–५७ रुपैयाँ प्रतिकिलो रहेको दाना ८० रुपैयाँ र ८० रुपैयाँ प्रतिगोटा रहेको चल्ला १ सय २० रुपैयाँसम्म व्यवसायीले तोकेर किसानलाई मर्कामा पारेको पौडेलले बताए । नयाँ पत्रिकामा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments