सयपत्री फूलको उत्पादनसँगै माग बढेपछि किसान उत्साहित

चितवन : चितवनमा यसबर्ष सयपत्री फूलको उत्पादनसँगै माग बढेपछि किसानहरू उत्साहित भएका छन् । गतबर्ष कोरोना प्रभाव भए पनि यस पटक मौसम अनुकूल हुँदा फूलको उत्पादन पनि बढेको छ । यस पटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुँदै गएपछि उनीहरूका फूलको माग दोब्बर भएपछि किसानहरू खुशी भएका हुन् ।

कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो बर्ष उत्पादन सँगै दिनहुँ माग पनि बढ्दै गएको बताउनुभयो । ‘पोहोर ७ कठ्ठामा फूल लगाउँदा माग पनि थिएन उत्पादन पनि थिएन उहाँले भन्नुभयो , अहिले डेढ विघामा लगाएको छु माग पुर्‍याउनै सकेको छैन ।’ हाल उहाँको बारीमा एक विघामा लगाइएको सयपत्री फूल बिक्रीका लागि तयारीमा छन् भने बाँकी १५ कठ्ठामा लगाइएको फूल पनि कोपिला लागिरहेको छ ।

‘मेरो अहिले दैनिक पांँचसय माला फूल बिक्री भएको छ । माग त दोब्बर छ तर पुर्‍याउन सकेको छैन ।’ बास्तोलाले भन्नुभयो ।सोही वडाका अर्का किसान खगेश्वर बास्तोला पनि बिहानदेखि फूलबारीमै फूल टिप्न र बिक्री गर्न व्यस्त हुनुहुन्छ । ‘अहिले उत्पादन पनि राम्रो भयो । बिक्री पनि भ्याई नभ्याई छ । म फूल खेतीबाट सन्तुष्ट छु । अब यसलाई थप विस्तार गर्छु ।’ उहाँले भन्नुभयो । कोरोना कहरसँगै विवाह,व्रतबन्ध, सभा सेमिनार र धार्मिक अनुष्ठानका कार्य भइरहेकोले पनि नियमित रुपमा सयपत्री फूलको माग भइरहेको उहाँको भनाई छ ।

फूल खेतीको पकड क्षेत्र मानिएको पश्चिम चितवनमा पनि यसबर्ष सयपत्री फूलको उत्पादन राम्रो भएको छ । ‘मैले अहिले दुई विघामा सयपत्री फूल लगाएको छु । ‘भरतपुर वडा नम्बर २६ का फूल किसान दिपक पाख्रिनले भन्नुभयो ,कुनै तयार हुंँदैछन कुन बिक्री गर्दै छु । अहिले मौसम पनि राम्रो भयो । कोरानाको असर पनि परेन ।’ हाल उनले हप्तामा काठमाडौँमा मात्रै झन्डै दुई हजार माला फूल बिक्री गर्दै आएको र यसबर्षको उत्पादनबाट आफू खशी र सन्तुष्ट भएको सुनाउनु भयो । उहाँका अनुसार आफ्नो नर्सरीबाट सयपत्री फूलको बिरुवा जिल्लाका विभिन्न ठाउँमा बिक्री गरेकोले किसान र फूल खेतीको क्षेत्रफल बढेसँगै उत्पादन बढेको हो ।

गतसाल कोरोना कहर र मौसम प्रतिकुल हुँदा फूल बारीमै सुकेपनि यसबर्ष उत्पादन र माग बढेपछि फूलखेती किसान उत्साहित भएको फ्लोरिकल्चर एशोसियसन, चितवनका अध्यक्ष अमर घले बताउनुहुन्छ । ‘अहिले क्षेत्रफलसँगै किसान पनि दोब्बर बढेको छ , माग पनि दोब्बर छ । किसानहरू खुशी र उत्साहित छन् ’ घलेले भन्नुभयो । उहाँका अनुसार गतसाल २० देखि २५ जना किसानले सयपत्री फूल खेती गरेका थिए र क्षेत्रफल पनि २० विघा जति थियो तर अहिले किसानको सङ्ख्या ५० को हाराहारी र फूल खेतीको क्षेत्रफल पनि ४० बिघाको हाराहारीमा छ । उत्पादन बढेपछि चितवनको उत्पादनले चितवनलाईनै नपुग्ने उहाँको भनाई छ । ‘यो तिहारमा ४ लाख माला फूलको माग हुन्छ तर उत्पादन दुईलाख माला फूल उत्पादन होला ।’ घलेले भन्नुभयो ।

बाँकी फूल भारतबाट आयात हुने र अन्यले आफ्नै घर करेसाबारीमा लगाएको फूल उपयोग गर्ने उहाँले बताउनु भयो । हाल चितवनमा कलकत्ते सयपत्री फूल लगाइएको छ जुन पहेँलो रङ्गको रहेको र हल्याण्डबाट ल्याइएको बीउ गाढा पहेँलो र थुँगा ठूलो हुने भएकोले किसानलाई हल्याण्ड जातको फूलको बीउ वितरण गरिने उहाँले जानकारी दिनुभयो । ‘चितवनमा पछिल्ला बर्ष फूलखेतीमा आकर्षण बढेको । हावापानी र मौसम पनि राम्रो छ । सयपत्री फूलका लागि चितवन उपयुक्त छ ।’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments