बाख्राको दूधबाट उत्पादित चीजको बिक्री बढ्यो, माग धान्नै धौ–धौ

काठमाडौं : बाख्राको दूधबाट उत्पादन हुने चीजको बिक्री बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ–धौ पर्न थालेको छ ।

पछिल्लो समय पर्यटकीय गन्तव्यहरूमा विदेशी पाहुना र आन्तरिक पर्यटकहरूले चीज मन पराएसँगै यसको माग बढ्न थालेको हो ।

विदेशीहरूले चीज र वाइन खाने गरेको तथा नेपाली चीज अन्य स्थानको भन्दा ताजा र गुणस्तरीय हुने भएकाले पनि पछिल्लो समय धेरै मन पराइएको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुरका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले बताउनुभयो ।

अधिकृत आचार्यका अनुसार अहिले बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातिका बाख्राहरू पालिएको छ । जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढिरहको छ ।

सानेन जातको एउटा बाख्राले एउटा सानो परिवारलाई पर्याप्त दूध पुर्‍याउन सक्ने आचार्यले बताउनुभयो । एक दिनमा यो बाख्राले साढे दुई लिटरदेखि ४ लिटरसम्म दूध दिने गरेको छ ।

दूधभन्दा पनि सानेन जातको बाख्रा चीजको लागि विश्वभर प्रसिद्ध छ । पहिला इटालीबाट २५ सय रुपैयाँमा चीज किनेर नेपालमा ३५ सयको हाराहारीमा बिक्री हुने गरे पनि अहिले नेपालकै उत्पादन बजारमा बिक्री भइरहेको आचार्यले बताउनुभयो ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नेपालमा बाख्राको दूध भन्दा चीजको बढी माग आइरहेको बताउनु भयो । उहाँले अहिले बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित चीज पोखराका विभिन्न होटलहरुमा बिक्री हुने बताउनु भयो ।

केही वर्ष यता नेपालीहरूले पनि चीज धेरै मन पराउन थालेको कँडेलले बताउनुभयो । बाख्राको दूधमा फ्याट कम र प्रोटिन बढी हुने हुँदा युरोप, अमेरिकामा गाई–भैंसीको तुलनामा बाख्राको दूध र चीजको माग उल्लेख्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments