सर्लाहीका किसानलाई तरुल खन्न चटारो

सर्लाही: सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुने गरेको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उनीहरुलाई चटारो बढेको हो । ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् ।

बागमती नगरपालिका–५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यस वर्ष करिब एक बिघा क्षेत्रफलमा तरुल खेती लगाउनुभएको छ । उहाँले गत वर्ष करिब रु तीन लाख ५० हजारको तरुल बिक्री गर्नुभएको थियो । अन्य खेतीका तुलनामा तरुल खेतीमा मेहेनत र खर्च कम फाइदा बढी हुने भएकाले १५ वर्षदेखि खेती गर्दै आएको उहाँले सुनाउनुभयो ।

यस वर्ष खेतबाटै व्यापारीले प्रतिकिलो रु एक सय १० मा तरुल खरिद गरेको बागमती–६ का किसान यमकुमार मगरले बताउनुभयो । उहाँका अनुसार तरुल लिन व्यापारी किसानका खेतमै पुगेका छन् । लामो समयदेखि तरुल खेती गर्दै आउनुभएका यामकुमारले यस वर्ष करिब १६ कट्ठा जमिनमा तरुल खेती गर्नुभएको छ । उहाँले व्यापारीलाई प्रतिकिलो रु एक सय १० का दरले खेतैमा र काठमाडौँ पु¥याएर प्रतिकिलो रु दुई सय २० मा तरुल बेच्नुभएको छ । खर्च कटाएर कट्ठाको रु करिब एक लाख आम्दानी भएको उहाँले बताउनुभयो । तरुल खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउने र घरव्यवहार चलाउन पुगेको उहाँको भनाइ छ ।

यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत देशका मुख्य ठूला सहरबाट अत्यधिक माग आइरहेको बागमती–८ का व्यापारी नुनुबाबु पण्डितले जानकारी दिनुभयो । यस क्षेत्रका किसानले पताले, झुसे, जाँते र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । तरुल खेती गर्न बलौटे तथा दोमट माटो उपयुक्त हुने किसानको भनाइ छ । बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गरेर प्रतिकट्ठा करिब रु छ हजार लगानी हुने अर्का किसान रामबहादुर मगरले बताउनुभयो ।

उहाँका अनुसार राम्रो उत्पादन हुँदा तरुल प्रतिकट्ठा करिब आठ क्विन्टलसम्म उत्पादन हुने गरेको छ । जिल्लामा मात्र यस वर्ष करिब तीन सय हेक्टर क्षेत्रफलमा तरुल खेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताउनुभयो । उहाँका अनुसार समय तथा मेहेनत पनि कम लाग्ने र सिँचाइ नभए पनि तरुल खेती राम्रो हुने भएकाले जिल्लाका किसान तरुल खेतीतर्फ बढी आकर्षित हुने गरेका छन् ।

यस्तो छ तरुलको मूल्य

जिल्लाका किसानले तरुलको राम्रो मूल्य पाएका छन् । राम्रो मूल्य पाएपछि तरुल किसान पनि दङ्ग परेका छन् । विगत वर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि यसपटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसान ढुक्क छन् ।

जिल्लाको बागमती नगरपालिकास्थित राजघाटका तरुल किसान बलराम उप्रेती तरुलको मूल्य राम्रो पाएको जानकारी दिनुभयो । यसपटक माघे सङ्क्रान्ति नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको तरुल प्रतिकिलो रु एक सयदेखि एक सय ६० सम्म खेतैमा पाएको अर्का तरुल उत्पादक किसान राजलाल महतोले बताउनुभयो । “पोहोर साल त रु ६०–७० प्रतिकिलो थियो”, उहाँले भन्नुभयो, “यसपटक राम्रो भाउ पाएका छौँ । रामै्र फाइदा हुन्छ होला ।” सङ्क्रान्तिको लागि भन्दै तरुल खरिद गर्न किसानका बारी–बारीमै व्यापारी पुग्ने गरेका छन् ।

यहाँ उत्पादन भएको तरुल ठेकेदारले किसानसँग खरिद गरेर देशका मुख्य बजार हेटौँडा, लहान, काठमाडौँ, विराटनगर र धनगढीसम्म पु¥याउने गरेका छन् । ठेकेदारले खेतमै खनेर लैजाने गरी तरुल ठेक्का लिएका राजघाटका तरुल उत्पादक किसान विनोद दासले बताउनुभयो । उहाँका अनुसार किसान आफैँले स्थानीय बजारमा समेत तरुल बिक्रीका लागि लैजाने गरेका छन् ।

“लगानी थोरै र स्याहार पनि थोरै गर्नुपर्ने भएकाले तरुलको यसपटकको मूल्यले किसानलाई फाइदा छ”, रामकुमार मैनालीले बताउनुभयो । “अन्य बालीलाई जस्तो स्याहार मल गर्नुपर्दैन । मकै वा बेसारभित्र लगाउँदा पनि हुने ।” एउटै बारीमा दुईथरि खेती गर्न पाइने भएकाले पनि किसान तरुलतर्फ आकर्षित हुँदै आएको स्थानीयवासीको भनाइ छ । तरुल बिक्री वितरणमा अहिलेसम्म किसानले दुःख पाउनु नपरेकामा समेत किसान खुसी छन् ।

माघे सङ्क्रान्तिमा विशेष फलारका रूपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीका रूपमा समेत बिक्री हुने गर्दछ । यसको खेती गर्दा जमिन हेरेर बीउ, खनजोत, खादमल र गोडमेलसमेत गरे राम्रो आम्दानी हुने किसानको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments