नुवाकोटमा मनाइयो सिन्दुरे जात्रा

त्रिशूली, भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पुर्‍याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो ।   
   
भैरवी वर्ष बन्धन अन्तर्गतको मुख्य रौनक सिन्दुरे जात्रा मनाए पनि धार्मिक गतिविधि र पूजाविधि भने आगामी वैशाख ३ गतेसम्म कायम रहने नेपाल सरकारका प्रतिनिधि एवं द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।   
   
उहाँका अनुसार सिन्दुर हालिसकेपछि भैरवीदेवी रथयात्रामा सहभागी धामी, धमिनीसहितको लावालस्करबाट पूजाविधि, भोज र भोगबलिमा सहभागी भएर आज बिहानसम्म पनि धार्मिक गतिविधि जारी छ ।   
   
शनिबार साँझ द्वारे शाहीले धार्मिक विधिअनुसार धामी र धमिनीको माथमा सिन्दुर हालेर यस वर्षको सिन्दुरे जात्राको विशेष रौनक सकिए पनि भैरवी वर्ष बन्धन २०७९ को बाँकी प्रक्रिया र गतिविधि आगामी वैशाख ३ गतेसम्म जारी रहने बताउनुभयो ।   
   
सिन्दुरे जात्रा ‘सरकारी जात्रा’अन्तर्गत मनाइने भएकाले जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति हुने गरेको छ । यो जात्रा ‘सरकारी जात्रा’ भए पनि नुवाकोटवासीले यस जात्रालाई साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मान व्यक्त गर्दै उल्लासपूर्णरुपमा मनाउने गरेका छन् ।   
   
जालपादेवी मन्दिरमा पुर्‍याएर फर्काइएको भैरवीको रथसहित धामी, धमिनी, कुमार, गणेशसहितको बाह्रभाई खलकको लावालस्करलाई नेपाली सेनाले सलामी अर्पणसहित भैरवीदेवी मन्दिरको निशाना झण्डा फहराउँदै बाजागाजासहित विशेष सम्मान दिने चलन छ ।   
   
प्रसिद्ध जालपादेवी, भैरवीदेवीसहित जीवित भगवान्का रुपमा रहनुभएका धामीप्रतिको आस्था एवं सद्भाव राख्दै जात्राको अवलोकन गर्न यो वर्ष हजारौँको सहभागिता रहेको थियो । जात्रामा बूढापाका मात्र नभई युवा र बालबालिकाको समेत उल्लेख्य सहभागिताले जात्राको गरिमालाई उच्च बनाएको विदुर नगरपालिका–५ निवासी रामकृष्ण भट्टले बताउनुभयो ।   
   
चैत शुक्ल पूर्णिमाका दिनमा मनाइने भए पनि यस जात्रालाई ‘वैशाख शुल्क पूर्णिमाको जात्रा’, ‘धामी जात्रा’ देवीजात्रा लगायतको नामले पनि चिनिन्छ ।   
   
भक्तजन तथा जात्रालु, तीर्थालुले दिदी जालपादेवी, बहिनी भैरवीदेवीसहित नुवाकोटका धामी, धमिनीको एकै स्थानमा दर्शन गर्न पाउने अवसरसमेत हरेक वर्ष चैत शुक्ल पूर्णिमामा जुर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments