के हो फौजी किरा ? पहिचान र रोकथामको उपाय

किसानको मिहिनेत र पसिनालाई सखाप पारिदिने फौजी किराको नेपाल यात्राको एक वर्ष पूरा भएको छ । सेनाजस्तो फौजमा हिँड्ने यो किरा बालीनालीमा प्रवेश गरेपछि त्यसलाई सखापै पार्छ । अहिले फौजी किरा भर्खरै हुर्किंदै गरेका मकैमा सल्किएको छ । हरेक वर्ष फौजी किराको प्रकोपको मारमा किसान पर्ने गरेका छन् । हरेक बालीमा किसानले नोक्सानी खेप्नुपर्छ ।

बालीका लागि निकै हानिकारक हुने यो किराले मकै मात्र नभई अन्य अन्नबाली खासगरी जुनेलो, धान, गहुँ, कोदो, उखु र घाँसमा समेत नोक्सानी पुर्याउने गरेको कृषि विज्ञहरु बताउँछन् । तर हरेक वर्ष ठूलो नोक्सानी गर्ने यो किराको न्यूनीकरण हुन सकेको छैन । कृषि वैज्ञानिक भन्छन्, ‘यस्ता खालका किरालाई अन्त्य गर्न सकिँदैन तर रोकथाम गर्न सकिन्छ ।’

के हो फौजी किरा ?

मकै बालीमा अहिले देखिएको फौजी किरा अमेरिकी किरा हो । यसअघि धान र गहुँमा भने नेपालकै रैथाने फौजी किरा देखिएको थियो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कीट विज्ञान महाशाखाका वरिष्ठ कृषि वैज्ञानिक अजय श्रीरत्न बज्राचार्य भन्नुहुन्छ, ‘अमेरिकी फौजी किरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम ‘स्पोडोप्टेरा फ्र्युगिपेर्डा’ हो ।’

विशेषगरी यो किरा बेलुका र रातिको समयमा चर्न रुचाउँछ । तर दिउँसोको समयमा बालीनालीमा असर नगर्ने चाहिँ होइन । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको वरिष्ठ वैज्ञानिक बज्राचार्य बताउनुहुन्छ ।

उहाँका अनुसार पोहोर वैशाख २६ गते नवलपरासीको गैँडाकोट क्षेत्रमा पहिलो पटक यो किरा भेटिएको थियो । किराले बाली सखाप पारेपछि नार्कको विज्ञ टोली अनुसन्धानको लागि नवलपरासीमा पुगेको थियो ।

यो किरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखिएको थियो । अमेरिकाका विभिन्न भाग हुँदै अफ्रिका महादेश पुगेको यो किरा सन् २०१८ मा भारत, श्रीलङ्का, म्यान्मार, भियतनाम, चीन, ताइवान, थाइल्यान्ड र बाङ्गलादेशमा देखा परेको थियो ।

सन् २०१९ को वैशाख २६ गते नवलपुरमा रहेको गैँडाकोटको मकैबारीमा भेटिएपछि नेपालमा फौजी किराको प्रकोप फैलिएको वैज्ञानिकले पुष्टि गरेका छन् ।
वरिष्ठ वैज्ञानिक बज्राचार्यका अनुसार विभिन्न अनुसन्धानपछि फौजी किराको रोकथामका लागि प्रयास भएका छन् । तर यसलाई निमिट्यान्न पार्ने सम्भावना कम छ ।

यो कीरा बालीका लागि निकै हानिकारक हुने गर्छ । बालीमा क्षति पुर्याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । यसले मकैको पात, गुभो, जुँगा र घोगासमेत खाइदिन्छ ।

मकै मात्रै नभई यसले जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेँडा, आलु र घाँसहरुमा पनि असर पुर्याउने गर्छ ।

बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा धेरै प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ ।
मिचहा किरा समेत भनिने यो किराको रैथाने जात नेपालमा पनि छ । रैथाने जातले धान र गहुँ बालीमा नोक्सानी गर्ने गरेको वरिष्ठ किट वैज्ञानिक सुनिल अर्यालले बताउनुभयो ।

कसरी पहिचान गर्ने ?

हिउँदपछि अर्थात् गर्मी बढ्दै जाँदा फौजी किरा सक्रिय हुन्छन् । तापक्रम बढेसँगै यो किराले आफ्नो सक्रियता बढाउँछ । फौजी किराको पोथीले आफ्नो जीवनमा ३ सयदेखि ५ सय वटासम्म फूल पार्न सक्छ ।

यसले गर्ने क्षति अरु किराकोभन्दा फरक हुन्छ । यसले पातलाई कोतरेर खान्छ । पातमा लाम्चा आकारका झिल्ली मात्र बाँकी राखेर बिरुवाको पात खाने गर्छ । त्यसपछि यो किराले पातलाई छिया छिया पारेर खान्छ ।

बिस्तारै गुभोमा नोक्सानी गर्छ । यतिवेला गुभोमा काठका ससाना धुलोजस्ता किराको दिसा भेटिन्छ । यो किराको लार्भा हो कि होइन भनेर थाहा पाउन पेटको आठौँ भागमा हेर्न सकिन्छ । यो किराको पेटमा वर्गाकार चार वटा ठूला ठूला काला धब्बा हुने विज्ञ बताउँछन् ।

यो किराको लार्भाले पनि उज्यालो रुचाउँदैन । तर यसो भन्दैमा उज्यालोमा यसले बालीलाई नोक्सानी नगर्ने होइन । उज्यालोमा पनि यसले गुभोमा टाउको तलतिर पारेर नोक्सानी पुर्याउने गरेको विज्ञ बताउँछन् ।

यसले मकैको घोगा र दानासमेत खाएर सखाप पार्ने कृषि विज्ञले बताएका छन् । तराई क्षेत्रमा प्रकोपको रुपमा फैलिएको यो किरा पहाडी जिल्लामा समेत पुगेको छ ।


घाँस, बोटबिरुवामा आश्रय

फौजी किरा जाडोमा बाँच्न सक्दैन । तर न्यानो ठाउँमा सानो सङ्ख्यामा बाँचेका किराहरु गर्मी बढेसँगै उडेर फैलिँदै जान्छन् । यो किरा एक रातमा सय किलोमिटरसम्म उड्न सक्छ । पुतली बनिसकेपछि फूल पार्नुभन्दा अघिको अवस्थामा यो किरा झण्डै ५ सय किलोमिटरसम्म उडेको प्रमाण भेटिएको छ ।
बाली कसरी जोगाउने

यो किराको रोकथामका लागि एकीकृत शत्रु जीव प्रणालीलाई प्रयोग गर्न सकिन्छ । फौजी कीराका केही प्राकृतिक शत्रु प्रयोग गरेर यसको नियन्त्रण गर्न सकिने कृषि तथा कीट वैज्ञानिकहरु बताउँछन् । यो किराको प्रकोप नियन्त्रण बारुलोजस्ता शत्रु किरामार्फत गर्न सकिन्छ ।

त्यस्तै, चराहरु बस्न मिल्ने टोट्का बनाउन सकिन्छ । त्यस्ता टोट्कामा चराहरु बस्ने र फौजी किरालाई खाने विज्ञको भनाइ छ । त्यसैगरी फौजी किरालाई मन नपर्ने बाली लगाए यसलाई नाश गर्न सजिलो हुन्छ । जस्तै बोडी र सिमीलगायतका लहरेबाली मकैमा छरिदिए यसको परागले फौजी किरा मकैमा सल्कन पाउँदैन । यस्तै खेतबारीको डिलडिलमा नेपियर घाँस लगाउन पनि विज्ञले सुझाव दिएका छन् ।

फौजी कीराको नियन्त्रण

यसबाहेक फौजी कीराको नियन्त्रणका लागि खेतभित्र र बाहिर रहेका झारपात उखेल्ने, बाली उठाएपछि लार्भा नष्ट गर्न खेत जोतेर ठुटा जलाउने वा हटाउने र खेतमा दुई चार दिनसम्म पानी लगाउने गर्नुपर्छ ।

यस्तै फौजी किरा दिनमाभन्दा रातमा सक्रिय हुने भएकोले यसलाई पासो थापेर पनि नष्ट गर्न सकिने विज्ञ बताउँछन् । फौजमा हिँड्ने यो किराको बाटो पहिल्याएर त्यहाँ कुलेसो वा कुलो बनाएर बीचबीचमा खाल्डो बनाई पुर्न सकिन्छ ।

यस्तै, खेतमा पानी पठाएर दुई लिटर मट्टीतेल राखी डोरीको सहायताले बोट हल्लाएर लार्भा मट्टितेल मिसिएको पानीमा झारेर पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि खेतमा पानी पठाएपछि त्यसलाई रोक्नुपर्छ ।

यो किराबाट बालीलाई जोगाउने उत्तम उपाय भनेको किसानले बालीनालीलाई अनुगमन गरिरहनु हो । यो किरा भए नभएकोबारे पहिलो चरणमै थाहा पाउन सके जैविक विषादीको प्रयोगबाट यसलाई न्यूनीकरण गर्न सकिन्छ ।

बाली लगाइसकेपछि यो किराको प्रकोप देखिएको छ भने विषादी छर्नुको विकल्प नहुने विज्ञ बताउँछन् । नेपालमा अहिलेसम्म तीन प्रकारका विषादी उपयुक्त देखिएको र ती विषादी कृषि विज्ञको सल्लाहमा बालीमा छर्न किसानलाई सुझाब छ । किराले गुभोमा नोक्सानी पुर्याउने भएकाले विषादीलाई गुभोमा पनि छर्कनु पर्छ ।

कीराको क्षति देखिनासाथ तल उल्लेखित विषादीहरु मकैको वोट पुरै (पात, डाठ र गुभो) भिज्ने गरी स्प्रे गर्ने ।

* एमामेक्टीन बेन्जोएट 5% SG 0.5 ग्राम प्रति लिटर पानीका दरले स्प्रे गर्ने।

* स्पिनोसाड 45% SC १ मिलिलिटर प्रति 3 लिटर पानीका दरले स्प्रे गर्ने।

* क्लोरान्ट्रानिलिप्रोल 18.5% SC, १ मिलिलिटर प्रति 3 लिटर पानीका दरले घोलेर बोट पुरै भिज्ने गरी स्प्रे गर्ने।

कीरामा विष पचाउन सक्ने क्षमताको विकास हुन नदिन एउटा विषादी एक-दुई पटक स्प्रे गरेपछि अर्को पटक पुनः स्प्रे गर्नुपर्ने भएमा सम्भव भएसम्म सोही विषादी स्प्रे नगर्ने (अर्को विषादी स्प्रे गर्ने)।विषादी प्रयोग गर्दा विहानीपख अथवा साँझपख स्प्रे गर्दा बढी प्रभावकारी हुन्छ।

विषादीले मकैका कलिला बिरुवालाई नोक्सान गर्दैन । तर यो विषादी छर्ने वेलामा किसानले स्वास्थ्य सतर्कता अपनाउनुपर्छ । विषादी छर्ने वेला माक्ससँगै हातमा पञ्जा र खुट्टामा बुट लगाउनुपर्छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
15 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?