जडीबुटी खेतीमा रमाउँदै टीकापुरका किसान

लम्की। कैलाली टीकापुरका किसानले बहुउपयोगी जडीबुटी मेन्था र मेथीक्रिया (केमोमाइल)खेती गरेर राम्रो आम्दानी लिन थालेका छन् ।

यहाँका किसानले हिउँदे खेती स्याहारेपछि बाँझो रहेको जमिनमा सो खेती गर्छन् । बाँझो जमिनको प्रयोग र बिक्री गर्न समस्या नहुने भएपछि सो खेतीतर्फ आकर्षित भएका हुन् ।

एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुने जनाइएको छ । मेन्थाबाट प्रशोधित तेल रु. एक हजार ५० रुपैँयामा बिक्री हुन्छ भने केमोमाइल रु. १९ हजार प्रतिकिलोमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरले खरिद गर्ने गरेको छ ।

‘‘मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ’’, कम्पनीका शाखा प्रमुख कमल बेल्वासेले भने, ‘‘सञ्चो र मसाज तेल स्वदेशमा राम्रो खपत भइरहेको छ ।’’ प्रशोधित तेल आफ्नै जडीबुटी कम्पनीले उत्पादन गर्ने तेलमा खपत भइरहेको उनले बताए । ‘‘केमोमाइलबाट प्रशोधित तेल भने विदेशमा खपत हुने गरेको छ’’, उनले भने, ‘‘मेन्था र केमोमाइलबाट उत्पादित तेल दर्जनौँ औषधि तथा चकलेटमा प्रयोग हुन्छ ।’’

कम्पनीले यस क्षेत्रका किसानलाई ती जडीबुटीका विरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ । कम्पनीले उत्पादित जडीबुटी पनि आफैँले खरिद गरिदिने गरेकोले खेतीतर्फ किसानको आकर्षण बढेको हो ।

यस वर्ष टीकापुरमा केमोमाइल ५० केजी मात्र उत्पादन भएको छ । यस वर्ष टीकापुरमा ६० विघामा मेन्था र ५५ विघामा केमोमाइल खेती गरिएको थियो । अघिल्लो वर्ष ३५ विघामा केमोमाइल र ४० विघामा मेन्था खेती भएको कम्पनीले जनाइएको छ ।

गर्त बर्षको तुलनामा केमोमाइल उत्पादन ५० प्रतिशत कमी भएको किसानको गुनासो छ । कोरोना सङ्क्रमका कारण तयार भएको जुडीबुटी स्याहार्न नपाउँदा किसानले क्षति बेहोर्नु परेको हो ।

यसबर्ष कम्पनीले अनुमान गरे बराबरको क्यामोमाइल उत्पादन भएन । कम्पनीले १५० केजी केमोमाइल तेल उत्पादन हुने अनुमान गरेको थियो तर ५० केजी मात्रै उत्पादन भयो ।

लकडाउनका कारण किसानले खेती स्याहार्न नसक्दा यस वर्ष घाटा भएको टीकापुर–१ का कृषक राधेश्याम चौधरीले बताए। ‘‘लकडाउनले समयमै खेती स्याहार्न पाएनौँ जसले उत्पादनमा कमी आयो’’, उनले भने, ‘‘लकडाउनको समयमा कम्पनी पनि केही दिन वन्द थियो । त्यसैले किसान र कम्पनी दुबैलाई केही नोक्सानी भएको छ ।’’

कम्पनीका अनुसार यस वर्ष मेन्था भने दुई टन (२ हजार किलो) उत्पादन भएको छ । यतिखेर किसानले मेन्था प्रशोधन गरिसकेका छन् । मेन्था खेती स्याहारेपछि किसानले धान खेती गर्छन् ।

यहाँका किसानले दुई कठ्ठादेखि दुई विघासम्म खेती गरेका छन् । ‘‘खेती बाँझो रहने समयमा जडीबुटी रोपेर आम्दानी लिइरहेका छौँ’’, टीकापुर वनगाउँको बीचकापुरुवाका किसान राजेन्द्र चौधरीले भने, ‘‘यो खेतीमा विषादी प्रयोग गर्नु पर्दैन । यसमा सिँचाइको सुविधा भए पुग्छ । जडीबुटीलाई गाइबस्तुले पनि खासै नोक्सान गर्दैनन् ।’’

प्रशोधन कम्पनीसँग जुडिबुटी प्रशोधन गर्ने दुई थान मेशिन थिए । खेती गर्ने किसान बढेपछि जडिबुटी प्रशोधन कम्पनीले थप चार मेसिन बढाएर छ पुर्याएको छ ।

जडीबुटी खेती अन्नबाली भन्दा सजिलो र नगदेबाली भएकोले किसानको आकर्षण बढेको उनीहरुको भनाइ छ । परशुराम चौधरीले तरकारी खेती गर्नुभन्दा जडीबुटी सजिलो भएकोले मेन्था खेती गर्न थालेको बताए । उनले यस वर्ष आठ कठ्ठा जमिनमा मेन्था लगाएका थिए । ‘‘आठ कठ्ठामा ३२ किलो मेन्था उत्पादन भयो । सिँचाइको सुविधा भएमा कम लागतमा बढी आम्दानी लिन सकिन्छ’’, उनले भने, ‘‘जडीबुटी खेती गर्दा बजारसमेतको समस्या नभएकोले सहज भएको छ । बजार आफैँ खोज्नुपर्दैन, कम्पनीले जडीबुटीको बीउ पनि दिन्छ र उत्पादन पनि आफैँले किनिदिन्छ ।’’

कम्पनीले स्थानीयलाई रोजगार पनि दिएको छ । कम्पनीको टीकापुर शाखामा नियमितरुपमा ३० जना दैनिक ज्यालादारीमा र सात जना स्थायी कर्मचारी छन् । औद्योगिक क्षेत्रमा तीन हेक्टर जमिनमा जडीबुटी उद्योग सञ्चालनमा छ । जडिबुटी उद्योगसँग रहेको छ वटा प्रशोधन मेशिन दैनिक १६ घण्टा चल्छन् । ‘‘कम्पनीले दैनिक ५० टन जडिबुटी प्रशोधन गर्न सक्छ’’, उनी भन्छन्, ‘‘जेठ र असारमा मेन्था, फागुन र चैतमा क्यामोमाइल प्रशोधन गरिन्छ । अन्य समयमा कोरा जडिबुटी सङ्कलनको काम गर्छौं ।’’

पछिल्लो समय स्थानीय तहले पनि जडीबुटी खेती गर्ने किसानलाई सघाउने नीति लिएका छन् । लम्कीचुहा नगरपालिकाले जुडीबुटी खेती गर्न चाहने किसानलाई आवश्यक अनुदान दिने जनाएको छ । ‘‘जडीबुटी गर्न चाहने किसान आएमा हामी लगानी गर्न तयार छौँ’’, नगर प्रमुख महादेव बजगाईले भने, ‘‘किसानले योजना ल्याएमा अनुदान दिन्छौँ ।’’ रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments