सडक पुगेपछि फस्टाउँदै कृषि व्यवसाय

काठमाडौं : पेशाले शिक्षक राजकुमार थापा मगर एउटा सफल कृषक समेत हुन् । जिल्लाका विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लाका उनले नियमितरुपमा गर्दै आएको मकै, तोरीलगायतका खेतीबाहेक अन्य फलफूल र नगदे बालीको खेती गरेर आम्दानी गर्दै आएका छन् । उनी विद्यालय समयबाहेक बिहान र बेलुका कृषि कार्यमा लागेर आम्दानी गर्दै आएका हुन् ।

उनले नियमितरुपमा गर्दै आएको खेतीबाहेक ५०० बोट कफी खेती गरेका छन् । यसपालि मात्रै अहिलेसम्ममा खसीबोकाबाट एक लाख आम्दानी गरेको उनले बताए । “गत वर्ष खसीबोका बेचेर मात्रै एक लाख ५३ हजार लिएको थिएँ”, उनले भने, “यसपालि अलि घट्लाजस्तो छ ।” अर्को नगदेबाली अलैँचीको भनेजस्तो मूल्य नपाएका कारण सबै बेच्न नपाएको उनले बताए ।

धनकुटा र इलाममा खेतीसम्बन्धी अवलोकन भ्रमणमा गएर फर्केपछि आफूले खेती थालनी गरेको उनले बताए । पहिला हिँडेर विपी राजमार्गको कटुञ्जे चौकीडाँडासम्म गाडी चढ्न पुग्नपर्ने बाध्यता हटेर गाउँमा नै मोटरबाटो पुगेसँगै दैनिकरुपमा यातायातको साधन चलेसँगै व्यवसाय गर्न सहज भएको उनले बताए ।

कफीबाट पनि उनले पहिलोपटक आम्दानी लिन शुरु गरेको छ । यस वर्ष रु १६ हजारको बिक्री गरेको उनले बताए । कफी र अलैँचीको नर्सरीसमेत राख्न शुरु गरेका उनले बिरुवा बेच्ने तयारीमा रहेको बताए । बाख्रापालनका लागि किम्बु र डालेघाँसको खेतीसमेत गरेका छन् । उनले बारी छेउछाउमा करीब ३०-३० बोट एभोकाडो बोटसमेत रोपेका छन् ।

गाउँकै ग्रामोन्नति माध्यमिक विद्यालयमा २४ वर्षसम्म शिक्षण पेशा गरिसकेका उनी नमूना कृषक बन्ने सोचका साथ कृषि क्षेत्रमा लागेका छन् । तरकारी र फलफूल खेतीसम्बन्धी पुस्तकहरु अध्ययन गरी व्यावसायिक रुपमा कृषिमा लागेको उनले बताए । जिल्लाको डाँडापारि क्षेत्रमा गाडीको सुविधा पुगेपछि किसानले विभिन्न किसिमका खेती र व्यवसाय गरेर आम्दानी गर्न थालेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments