लामो समयमा वर्षा भएपछि सुदूरपश्चिमका किसान खुशी

बैतडी : लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ ।

लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताए । “यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ”, उनले भने, “यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ ।”

वर्षाले गहुँलगायतका हिउँदेबालीका लागि निकै फाइदा पुर्याएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । “लामो समयको खडेरीपछि परेको पानीले केही मात्रामा भए पनि बालीनालीका लागि राम्रो भएको छ”, उनले भने, “यो वर्षापछि बेँसी र टार क्षेत्रमा गहुँसमेत छर्न सकिनेछ, गहुँबाली छर्न बाँकी रहेका क्षेत्रमा यो वर्षाले गहुँबाली छर्नका लागिसमेत सहयोग पुग्छ ।”

बैतडीमा १७ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । आठ हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नभएका अधिकांश ठाउँका किसानले यो वर्ष गहुँबाली छरेका छैनन् । यो वर्षापछि केही ठाउँमा गहुँ छर्ने तयारीसमेत भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments