कृषक परिचयपत्र पाएसँगै भेटियो किसानको पहिचान

काठमाडौं : पोखरा महानगरपालिका–३३ भरतपोखरीका शोभाखर भण्डारी व्यावसायिक कृषक छन् । दुई दशकदेखि व्यावसायिक हिसाबले गाईपालन गर्दै आएका उनले शुक्रवार जीवनमा पहिलोपटक कृषक परिचयपत्र पाए ।

कृषक भनेर चिनिँदै आए पनि उनले सोको कुनै प्रमाण अहिलेसम्म राज्यबाट पाएका थिएनन् । उमेरले ६९ वर्ष लागेका उनी अनुदान र बैंकमा ऋणका लागि कार्यालय जाँदासमेत उमेरको हदम्याद नाघेको भन्दैै फिर्ता आउनुपरेको अवस्थामा कृषक परिचयपत्र पाएपछि भण्डारीले खुशी व्यक्त गरे ।

उनले भने, “निर्वाहमुखी कृषकको छोरो हुँ, व्यावसायिक कृषिमा लागेको दुई दशकपछि बल्ल परिचयपत्र प्राप्त गरेर हाम्रो पहिचान भेटियो । पेशामा अघि बढ्न हौसला मिलेको छ, कृषिमा लाग्न अझै १० वर्ष आयु बढायो ।” अर्का अग्रज कुखुरापालक कृषक तेजबहादुर भट्टराईले पनि परिचयपत्र पाएपछि उत्साह र हौसला मिलेको बताए। उनले भने, “आफ्नो चिनारी परिचयपत्र पाएपछि खुशी मिलेको छ ।”

गोठ तथा फार्ममा पालेका पशुपंक्षीका आधारमा कृषकलाई विभिन्न सात वर्गमा विभाजन गरी महानगरपालिकाले शुक्रवारदेखि कृषकलाई परिचयपत्र वितरण कार्यक्रम शुभारम्भ गरेको थियो । नेपालमै पहिलोपटक परिचयपत्र वितरणको काम शुरु भएको महानगरको दाबी छ । कृषकलाई परिचयपत्र दिएर सम्मान गर्नुपर्दछ भनेर लामो समय आवाज उठाउँदै आएका कृषक परिचयपत्र हातमा परेपछि उत्साहित भएका छन् । राष्ट्रिय पशुपालक कृषक समाजका गण्डकी प्रदेश अध्यक्ष दीपक तिमिल्सिनाले आफूहरूको वर्षौंदेखिको माग पूरा भएको बताए ।

उनले भने, “राज्यले कृषकलाई परिचयपत्र दिएर सम्मान गर्नुपर्दछ भनेर पटक÷पटक आवाज उठाएका थियौँ । ढिलै भए पनि हाम्रो माग महानगरले सुनुवाइ गरेको छ, कृषकको बल्ल आज न्वारन भएको महसुस भयो ।” प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषक पहिचान तथा वर्गीकरण कार्यविधि विसं २०७५ र महानगरपालिका पशु विकास अनुदानसम्बन्धी कार्यविधिअनुसार कृषकलाई वर्गीकरण गरी परिचयपत्र प्रदान गरिएको महानगर पशु तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

पशुपालन तथा मत्स्यपालन सङ्ख्याका आधारमा महानगरले किसानलाई सीमान्तकृत कृषक, निर्वाहमुखी कृषक, साना कृषक, व्यवसायी उन्मुख कृषक, उद्यमी कृषक, विशिष्ट कृषक र सौखिन कृषक गरी सात वर्गमा विभाजन गरेको छ । सात वर्गमध्यमा सीमान्तकृत र सौखिन वर्गबाहेकलाई परिचयपत्र वितरण शुभारम्भ गरिएको हो ।

सरकाले वितरण गर्ने अनुदान वास्तविक कृषकले प्राप्त गर्न नसकेको र अनुदान दुरुपयोग भएको गुनासालाई अन्त्य गर्नका लागिसमेत कृषक वर्गीकरण र परिचयपत्र वितरणको काम शुरु गरिएको महाशाखा प्रमुख कडरियाको भनाइ छ । उनले भने, “सक्कली किसानसम्म अनुदान नपुगेको र विचौलियाको बिगबिगी रहेको गुनासा अन्त्य र सरकारले गरेको लगानी सदुपयोगका लागिसमेत कृषक वर्गीकरण र परिचयपत्र महत्वपूर्ण छ । वर्गीकरणमा परेका र परिचयपत्र पाएकालाई मात्र अब अनुदानलगायत सहयोग कार्यक्रम सञ्चालन गर्दछौँ ।”

भौगोलिकरुपमा देशकै सबैभन्दा ठूलो ४६४ वर्गकिमी क्षेत्रफलमा फैलिएको पोखरा महानगरको ४० प्रतिशत क्षेत्र कृषियोग्य भूमि रहेको तथ्याङ्क छ । चालीस प्रतिशत वन क्षेत्र रहेकाले समेत यहाँ व्यावसायिक कृषि र पशुपालनको राम्रो सम्भावना रहेकाले कृषकलाई प्रोत्साहन र सम्मानका लागिसमेत परिचपत्र महत्वपूर्ण रहेको बताइन्छ ।

कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले अनुदान सदुपयोग र कृषकको सम्मानका लागि प्रदेश सरकाले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि बनाएको स्मरण गर्दै महानगरले यसको कार्यान्वयन शुरुआत गरेकामा खुशी व्यक्त गरे । किसानको सम्मान र प्रोत्साहनका लागिसमेत देशभरका कृषकलाई परिचयपत्र वितरण गरेर सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले भने, “कृषकलाई कामको पहिचान दिने काम परिचयपत्रले गरेको छ, कृषक पेन्सन तथा अनुदानका लागिसमेत परिचयपत्रले सघाउ पुग्नेछ ।”

महानगर प्रमुख मानबहादुर जिसीले कृषकले उत्पादन गरेको उपजको बजारको जिम्मा महानगरले लिने बताए । परिचयपत्रलाई प्रविधिमैत्री बनाइने बताउँदै उनले यसका आधारमा अनुदानलगायत सहयोगका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । परिचयपत्रमा कृषकको नाम, स्थायी ठेगाना, सम्पर्क नम्बर, फर्मको नाम, ठेगाना, नागरिकता नम्बर, महानगरको करदाता नम्बर, कृषक वर्गीकृत पहिचान तथा प्यान-भ्याट नम्बर उल्लेख गरिएको छ ।

कार्यक्रममा विशिष्ट आठ जना, उद्यमी पाँच जना, व्यवसायी कृषक १३, व्यवसाय उन्मुख ९८ जना र साना व्यावसायिक कृषक १६४ गरी २८८ लाई परिचयपत्र वितरण गरिएको पशु शाखा प्रमुख नवराज अधिकारीले बताए । उनका अनुसार सम्बन्धित पशु सेवा केन्द्रको सिफारिसमा फार्म रहेको वडा कार्यालयमा फार्म दर्ता तथा नवीकरण तथा घरेलु कार्यालयमा दर्ता गरी साना कृषकदेखि माथिका वर्गीकृत कृषकलाई परिचयपत्र प्रदान गर्दै जाने योजना रहेको छ ।

पशु सेवा केन्द्रका प्राविधिक कर्मचारीले वर्गीकरणका लागि प्राप्त निवेदनका आधारमा कृषकको वर्ग कायम गरेर वडाले दर्ता गरेपछि कृषकको वर्ग छुट्टाइएको थियो । एउटामात्र गाई भैँसीको माउ पालेकालाई सीमान्तकृत कृषक, एकदेखि चारवटा माउ हुनेलाई निर्वाहमुखी कृषक, पाँचदेखि नौ वटासम्म साना कृषक तथा १० देखि २९ सम्म व्यवसायी उन्मुख कृषकमा वर्गीकरण गरेको छ ।

त्यसैगरी ३० देखि ५९ सम्म व्यवसायी कृषक, ६० देखि १४९ सम्म उद्यमी कृषक तथा १५० भन्दा माथि गाईभैँसीका माउ पालेकालाई विशिष्ट कृषक भनी वर्ग छुट्टाएको छ । त्यसैगरी दुईदेखि १९ वटासम्म भेडाबाख्राका माउ पालेकालाई निर्वाहमुखी, २० देखि २९ सम्म साना कृषक, ४० देखि ९९ सम्म व्यवसायी उन्मुख, १०० देखि १९९ व्यवसायी, २०० देखि ४९९ सम्म उद्यमी तथा ५०० देखि माथि पालेकालाई विशिष्ट कृषकका रुपमा वर्गीकृत गरिएको छ ।

कुखुरापालक कृषकलाई १० देखि ५० सम्म निर्वाहमुखी, ५० देखि ९९९ साना कृषक, एक हजारदेखि दुई हजार ९९९ व्यवसायी उन्मुख, तीन हजारदेखि पाँच हजार ९९९ व्यवसायी, छ हजारदेखि १४ हजार ९९९ उद्यमी र १५ हजारमाथिको सङ्ख्यामा पालेकालाई विशिष्टमा विभाजित गरिएको छ ।

त्यसैगरी एउटा बङ्गुर पाल्ने निर्वाहमुखी, दुईदेखि तीनवटा साना कृषक, चारदेखि छ व्यवसायी उन्मुख, सातदेखि १२ व्यवसायी, १३ देखि २४ सम्म उद्यमी र २५ माथि पालन गरेकालार्ई विशिष्ट कृषकमा वर्ग कायम गर्ने गरी महानगरले कार्यविधि पारित गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको छ । पशु शाखा प्रमुख अधिकारीले भने, “कृषकले पालेका पशुका आधारमा महानगरको कार्यविधिमा उल्लेख भएबमोजिम कृषकको वर्ग पहिचान गरी उनीहरूलाई परिचयपत्र गरेका हौँ, पहिलोपटक शुरु गरिएको यस कार्यक्रमले अनुदान कार्यक्रम पारदर्शी, वैज्ञानिक र साना कृषकलाई प्रोत्साहन गर्न सघाउने छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments