ह्विलचियरमै बसेर कृषिबाटै लोभलाग्दो आम्दानी

सुर्खेत : भेरीगंगा नगरपालिका–६ घारीका कविराम खड्का शारीरिक रूपमा अशक्त छन्। करिब १५ वर्ष भयो। उनको शरीरको आधा भाग चल्दैन। छातीदेखि तल्लो भाग पूर्णरूपमा अशक्त छ। तर, उनको हिम्मत र कृषि कर्मप्रतिको लगाव भने लोभलाग्दो छ।

सानो व्यापार, मिल र कृषि फर्म उनले नै धानेका छन्। उनका पत्नी र बुहारीले उनलाई सघाउँछन्। ह्विलचियरमै बसेर व्यापार गर्छन्। समयसमयमा कृषि फर्ममा पनि पुग्छन्। व्यापार, कृषि र मिलबाट परिवारका आवश्यकता पूरा गर्छन्। सबै खर्च कटाएर मासिक रूपमा कम्तीमा पनि ५० हजार रुपैयाँसम्म बचत गर्छन्। झट्ट सुन्दा अशक्त व्यक्तिले मासिक ५० हजार रुपैयाँ आम्दानी गर्न असम्भव लाग्न सक्छ। तर, उनको यो हिम्मत र लगाव भने सबैका लागि प्रेरणादायी छ।

कुनैबेला खड्कालाई परिवारको छाक टार्नसमेत मुस्किल पर्थ्यो। सम्पत्तिको नाममा घर र खेतवारी केही थिएन। तर, उनको मिहिनेत र हिम्मतले अहिले करिव ६० लाखबराबरको कृषि फर्म ‘खड्का पशुपक्षी फर्म’ जोडेका छन्। जसमध्ये ४० लाखबराबरको कृषि फर्मको भौतिक संरचना छ। झन्डै १५-२० लाख बराबरका बँदेल, बाख्रा, टर्की र कुखुरापालन गरेका छन्। झन्डै १५-२० लाख बराबरको मिल छ। कुनै बेला एक टुक्रा जमिन नभएका उनीसँग अहिले तीन रोपनी खेतबारी पनि छ।

यिनै व्यवसायबाट आएको आम्दानीले छोरा-छोरीलाई कृषि विषय पढाइरहेका छन्। समाजमा अपांगता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्नेका लागि खड्काको साहस र आँटले गतिलो जवाफ दिएको छ। कृषि व्यवसायका लागि कर्णाली प्रदेश सरकारले कविरामलाई साढे चार लाख रुपैयाँ सहयोग गर्ने भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशु विकास निर्देशनालयले चार लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्न लागेको हो। मन्त्रालयको वार्षिक कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत खड्काको ‘पवन पशुपन्छी एन्ड बँदेल फर्म’ लाई व्यवसाय सञ्चालनका लागि सहयोग गर्न लागिएको हो।

मन्त्रालयका मोहन गिरीले सम्झौताअनुसार खड्कालाई आगामी वैशाख १५ गतेभित्र कार्ययोजनाअनुसारको व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छन्। व्यवसाय सञ्चालनपश्चात् मात्रै खड्कालाई तोकिएअनुसारको रकम भुक्तानी दिने गिरीले जानकारी दिए। सम्झौताअनुसार खड्काले मन्त्रालयको साढे चार लाख र सोहीबराबरको व्यक्तिगत लगानीमा व्यवसाय सञ्चालन गर्नुपर्नेछ। उनी २०६१ सालमा माओवादीको आक्रमणमा परी घाइते बनेका हुन्। सेनामा भर्ती हुनका लागि वीरेन्द्रनगरस्थित कपासे ब्यारेकतर्फ जाँदै गर्दा उनी तत्कालीन माओवादीको आक्रमणमा परेका थिए। उनीसँगै भर्ती हुन गएका साथीमध्ये तीन जनाको मृत्यु भयो। उनी गम्भीर घाइते भए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँ पु¥याइयो। तर, त्यहाँ उपचार सम्भव भएन। करिब चार महिनासम्म शरीरमै गोली बोके। अन्ततः भएको सबै घरखेत बिक्री गरे। भारतको लखनउमा करिब साढे चार लाख रुपैयाँ खर्च गरेर शरीरमा भएको गोली निकाले। तर, उनको अवस्था सोचे जस्तो भएन। गोली अडिएको एक साइडको करङ नै फाल्नुप¥यो। करिव १६ वर्षदेखि आफ्नै शरीरसँग उनी संघर्ष गर्दै आएका छन्। सुगर रोगबाट ग्रसित उनले अहिले पनि मासिक पाँच हजारबराबरको औषधि सेवन गर्नुपर्छ। तर, पनि उनले हिम्मत हारेका छैनन्। ह्विलचियरमै बसेर भए पनि कृषि कर्म गरिरहेका छन्। उनको यो संघर्षले छिमेकी पनि उत्प्रेरित बनेका छन्। अन्नपुर्ण पोस्टमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments