जुम्लामा ८ करोड लगानीमा फुजी स्याउ बगैँचा

जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिका–५, काँडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा निर्माण भएको छ । करिब ८ करोड लगानीमा उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण भएको गुठीचौर एग्रो फार्म प्रालिका अध्यक्ष मीनबहादुर भण्डारीले जानकारी दिए । कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले फुजी स्याउ रोपेर बगैँचा प्रारभ्भ भएको घोषणा गरेका थिए । बगैँचामा एकैपटक ३० हजार फुजी स्याउका बरुवा रोपिएको हो । सचिव मिश्रले भने, ‘यो नेपालको ठूलो स्याउ बगैँचा मात्र होइन, कृषि तालिम केन्द्रका रूपमा स्थापित हुनुपर्छ । अनुसन्धान केन्द्र बनाउनका लागि लाग्नुपर्छ । यो बगैँचा नेपालको स्याउ उत्पादनको सिलसिलामा एक सान नै हो ।’

उक्त अवसरमा सचिव मिश्रले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले स्याउको प्रशोधन, बजारीकरण, कृषि, सडकलगायतका प्राविधिक सहयोग गर्न सक्ने बताए । उनले कर्णालीमा लगानी भित्र्याउनेलाई सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘जसले कर्णालीमै लगानी गर्छ, त्यो सम्मानित लगानीकर्ता हो । मीनबहादुर भण्डारी कर्णाली कृषि क्षेत्रका सम्मानित व्यक्ति हुनुहुन्छ । कर्णालीवासीले उहाँबाट सिक्नुपर्छ । उहाँको कार्यलाई पछ्याउँदै जानुपर्छ ।’

गत चैतदेखि बगैँचा स्थापनाको तयारी थालिएको थियो । लकडाउन अवधिभर बगैँचाको पूर्वाधार निर्माणदेखि बिरुवा रोप्ने तयारीसम्मका क्रियाकलाप भए । लकडाउनले उद्योग–धन्दा, सिर्जनशील काम बन्द भए । त्यही लकडाउनबीचमा ठूलो बगैँचा निर्माण भयो ।

गुठीचौर एग्रो फार्मका सहजकर्ता दानबहादुर बुढाले भने, ‘यो बगैँचा स्थापनाको कामले पूर्णता पाएसँगै स्थानीयले रोजगारी पाए । फुजी स्याउको विशाल बगैँचा जुम्लामा स्थापना भएको सन्देश फैलाउने अवसर मिल्यो । अर्काे वर्ष २० हजार बिरुवा रोप्ने तयारी गरेका छौँ ।’ उनले भने यसमा स्याउ सुपरजोन जुम्लाले बिरुवा र सिँचाइमा लगानी गर्ने प्रतिबद्धता जनाएको बताए ।

डेढ लाख वर्गमिटर जग्गामा स्याउखेती

बगैँचामा स्याउ रोप्नुअघि आकारप्रकार तयार भयो । बगैँचा निर्माणका लागि ८७ जनाले जग्गा लिजमा दिए । १ लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधासम्पन्न स्याउ बगैँचा निर्माण भयो । ३० वर्ष लिजमा लिएको जग्गामा झन्डै ८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

स्थानीय युवालाई रोजगार

बगैँचामा दैनिक डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगार पाएका छन् । गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि स्थानीय खुसी छन् । उनीहरूले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनका लागि प्रेरणा मिल्ने बताए । लगानीकर्ता मीनबहादुर भण्डारीले जडीबुटी व्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘यो स्याउ बगैँचामा अर्गानिक मलको प्रयोग हुनेछ ।’ उनले २३ लाख रुपैयाँमा मल खरिद गरेर बिरुवामा राखेका छन् ।

उनले स्याउखेती गरेर कृषिकर्मको एक परिचय दिने लक्ष्य रहेको बताए । मीनबहादुरले भने, ‘बगैँचाबाट हुने आम्दानी शिक्षा, स्वास्थ्यसँगै सामाजिक कार्य र पारिवारिक समृद्धिमा लगाउँछु ।’ यो बगैँचालाई नमुना बगैँचा बनाइराख्न पनि सदैव तत्पर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments