उन्नत पशुपालन अभियान : पहिलो चरणमा ६८ वटा भैँसी वितरण

दैलेख : भगवतीमाई गाउँपालिकाले पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत उन्नत भैँसीपालन कार्य शुरु गरेको छ । गाउँपालिकाले अहिले उन्नत भैँसी र जर्सी गाई खरिद गरेर किसानलाई वितरण गरेको छ । सङ्घ, प्रदेश, स्थानीय सरकार र स्वयं कृषकको साझेदारीमा उन्नत पशुपालन कार्यक्रम गाउँमा शुरु गरिएको हो ।

दूध उत्पादन अभियानको पहिलो चरणमा ६८ वटा भैँसी वितरण शुरु गरिएको छ । भैँसी खरिदका लागि सङ्घ सरकारको रु २१ लाख, प्रदेश सरकारको रु २० लाख, स्थानीय सरकारको रु २१ लाख र स्वयं किसानको रु १८ लाख साझेदारीमा रु ८० लाखको लागतमा उन्नत भैँसीपालन कार्यक्रम शुरु गरिएको हो ।

उक्त कूल रकमभित्र भैँसीको बिमा गरिएको छ, भकारो सुधार, घाँस उत्पादनका लागि घाँसको बिउ, किसानलाई तालिमलगायतका अन्य प्राविधिक सेवासमेत प्रदान गरिएको छ । उत्पादन भएको दूधको बजारीकरणका लागि पालिकामै चिलिम भ्याट स्थापना गरिएको छ । यसले किसानको आर्थिक अवस्था सुधार गर्न सजिलो हुने देखिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताउनुभयो ।

किसानको आफ्नो लगानी भएपछि अपनत्व ग्रहण हुने भएकाले हरेक कार्यक्रम साझेदारीमा सञ्चालन गरिएको अध्यक्ष थापाले बताउनुभयो । तीन तहका सरकार र किसानसँगको साझेदारीमा काम गरिएकोले भैँसीपालन प्रभावकारी हुने उहाँको भनाइ थियो । आफूले लगानी नगरेसम्म नहुने भएकोले थोरै भए पनि किसानलाई लगानी गर्ने अभियान पालिकाले थालनी गरेको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले आवश्यक पर्ने सबै प्राविधिक काममा सहजीकरण गरिदिएको छ । जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत पालिकामा दूध उत्पादन कार्यक्रम शुरु गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले बताउनुभयो । गत वर्ष प्रदेश र स्थानीय सरकारको साझेदारीमा नारायण नगरपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा दूध उत्पादन कार्यक्रम सञ्चालन भइसकेको र किसानले मासिक लाखौँ रुपैयाँ गाउँमा भित्र्याएको उहाँले बताउनुभयो ।

यो अभियानले पालिकालाई दूधमा आत्मनिर्भर बनाएकाले भैँसीसँगै उन्नत गाई पनि वितरणको तयारी थालिएको छ । पहिलो पटक भैँसी वितरण काम शुरु गरेको र नेपालगञ्जबाट लकडाउनको अवधिमा भैँसी ल्याउँदा चुनौती भएको भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले बताउनुभयो । पालिका स्थापना भएको दोस्रो वर्षमै स्थानीयवासी १४० युवालाई श्रम रोजगार बैंकमार्फत रोजगारी दिएको गाउँपालिकाले यो वर्ष कृषिमा चक्लाबन्दी कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments