चैते धानतर्फ किसान आकर्षित

बाँके :बाँकेका बैजानाथ गाउँपालिका—८ झिंगौराका किसान अजितकुमार सुनार यस वर्षको परीक्षणमा पहिला पटक चैते धान फलाउन सफल हुनुभएको छ । बर्खे धानभन्दा उत्पादनमा दोब्बर वृद्धि भएको अन्य किसानहरूबाट सुनेपछि सुनारले पनि चैते धान लगाउनु भएको हो ।उत्पादन राम्रो भएपछि अर्को वर्षदेखि थप जमीनमा पनि चैते धान रोप्ने उहाँले सोच बनाउनु भएको छ । कृषि ज्ञान केन्द्र बाँकेले किसान उहाँलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान बिउ उपलब्ध गराएको थियो ।

पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिदै आएको छ । बर्दियाका किसानले एक दशकदेखि नै चैते धान लगाउँदै आएका छन् । यस वर्ष बाँकेका किसानले पनि चैते धान फलाउन सफल भएका छन् । सिक्टा सिँचाइ आयोजनाअन्तर्गत नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका हुन् । नहरमा बाहै्र महिना पानी आउन थालेपछि किसानलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे ।

यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाउँका किसान ज्ञानबहादुर नेपालले पनि ११ कट्ठा जमीनमा चैते लगाउनु भएको छ । किसान नेपालले असार पहिलो हप्तासम्म चैते धान थन्क्याएर बर्खे धान लगाउने तयारी गरेको बताउनुभयो । परीक्षणका रूपमा उहाँले हल्दीनाथ ३ र चैते धान ५ नामक धानको बिउ रोेप्नु भएको हो । लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि चैते धानको खेती लगाउनु भएको हो । एक वर्षमै शुरुमा बर्खे धान, त्यसपछि हिउँद्मा मसुरो र चैतमा चैते धान खेती गरेको नेपालले बताउनुभयो । सिँचाइ सुविधा पुगेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको उहाँको भनाइ छ ।

धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल, बिउसमेत उपलब्ध गराएको केन्द्रका अधिकृत दिनेश भट्टराईले बताउनुभयो । अर्को वर्ष थप किसानलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने उहाँले जानकारी दिनुभयो । बाँकेमा चैते धान फल्ने खेतमा गहुँ, मकै र तरकारीको खेती गर्ने चलन छ ।

बबई सिँचाइ आयोजनाको काम अधुरै
बर्दियास्थित बबई सिँचाइ आयोजनाको मूल नहरको शाखा, उपशाखा र तटबन्धको निमार्णको काम अधुरै रहेको छ । तीन वर्षअघि बेपत्तापुर, कुम्रागाउँ, ढुग्रही र गुरुवा गाउँको तटबन्धका लागि रु ३३ करोड ४२ लाखमा राजेन्द्र शर्मा जेभी धनगढीले ठेक्का लिएको थियो । आयोजनाअन्तर्गत गुरुवा गाउँको १ हजार १५० मिटर तटबन्धको काममध्ये ३० प्रतिशत मात्रै पूरा भएको छ । तीमध्ये कुम्रागाउँ र बेपत्तापुरको १ हजार १०० मिटरको काम करीब ९० प्रतिशत पूरा भएको छ । ढुग्रहीको ४५० मिटर तटबन्ध ६४ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

तीन दशकअघि बर्दियामा शुरु भएको बबई सिँचाइ आयोजनाको नहर निमार्णको लागि काम अहिलेसम्म ५१ प्रतिशतमात्रै सम्पन्न भएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले कामले तीव्रता नपाएको आयोजनाले जनाएको हो । कोरोना माहामारीले समेत काममा बाधा भएको आयोजनाले जनाएको छ । विसं २०७१ सालमा आएको बाढीले ढुग्रहीमा ११ जनाको ज्यान गएको थियो भने यस क्षेत्रमा ९५ प्रतिशत घर डुबानमा पारेका थिए । यसै क्षेत्रमा तटबन्धको कामले गति नलिँदा पुनः बाढी र कटानको जोखिम बढेको स्थानीयवासी कालुराम थारूले बताउनुभयो । बबई नदीको कटान क्षेत्र मानिएको जब्दीघाट र भैसाहीमा तटबन्ध ५० देखि ६५ प्रतिशत सकिएको छ । निर्माण कम्पनीले म्याद थपेको थपै गर्दा कामले तीव्रता पाएको छैन् । ठेकेदार कम्पनीले काममा चासो नदिँदा ढिलासुस्ती भएको स्थानीयले गुनासो गरेका छन् ।

चार वर्षअघि सम्पन्न हुने ३४ किमि पूर्वी मूल नहर गत जेठको पहिलो साता सकिएको छ । आयोजनाका ििभजनल इन्जिनीयर रामकृष्ण घोडासैनीले कोभिडका कारण आयोजनाको काम ढिलासुस्ती भएको बताउनुभयो ।पश्चिम नहर पनि काम भएको छैन् । जम्मा २८ किमी नहरको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७२ जेठ ६ गते सम्झौता भएको थियो । यस आवमा २८ किमिमध्ये २५ किमि सम्पन्न हुने आयोजनाले जनाएको छ । जग्गा अधिग्रहणको विवादले मूल नहरको काम हुन नसकेको आयोजना प्रमुख मधुकर राना मगरले बताउनुभयो । पश्चिम मूल नहर ४३ किमि आव २०८२÷८३ मा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको काम सम्पन्न गर्न सरकारले रु १८ अर्ब ९६ करोड ३० लाख रकम स्वीकृत गरिसकेको छ । त्यसमध्ये हालसम्म आधा रकम खर्च भएर ५१ प्रतिशत काम भएको जानकारी आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments