कृषि विकासका लागि नवीकरणीय ऊर्जाको प्रयोगमा जोड

काठमाडौँ: खाद्य पदार्थको उत्पादन बढाउन व्यवसायीकरण, यान्त्रीकरण, भण्डारण र बजार व्यवस्थापन गरिनु पर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् ।

कृषि क्षेत्रमा संलग्न जनशक्तिको उच्चतम् उपयोगिताको लागि सीप विकास, सहज लगानीका लागि ऋण र अनुदान व्यवस्था गर्न सकिएमा खाद्य उत्पादन वृद्धि हुनुका साथै किसानको जीवनस्तर अभिवृद्धि हुन सक्ने उनीहरुको ठम्याइ छ ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले राष्ट्रिय धान दिवसको आवसरमा आयोजना गरेको वेबिनारमा रासायनिक मलको निर्भरतालाई कम गर्न र दिगो उत्पादकत्व बढाउन भान्छाबाट निस्कने फोहरमैला र वायोग्यास प्लान्टबाट निस्कने जैविक मललाई प्रयोग गर्न सकिने र सिँचाइ सुविधा पुग्न नसकेका ठाउँमा सौर्य पम्पबाट सिँचाइ गरी उत्पादन बढाउन नवीकरणीय ऊर्जा प्रविधि निकै उपयोगी हुने उनीहरुको भनाइ छ ।

उत्पादनपछिका कृषिजन्य वस्तुको प्रशोधन, सुकाउन र भण्डार गर्न लघु जलविद्युत, सौर्य मिनिग्रिड, वायु ऊर्जा, सौर्य पिभी, सोलार थर्मलजस्ता नेपालका ग्रामीण वस्तीमा सहज उपलब्ध हुने प्रविधिलाई राज्यले प्राथमिकता दिनु पर्ने उनीहरुको सुझाव छ ।

सो अवसरमा पूर्वमन्त्री गणेश शाहले कृषि र कृषकको विकासको लागि प्रविधि र सामग्री सहजरुपमा उपलब्ध गराउन, क्षमता अभिवृद्धि गर्न र लगानी सुलभ तुल्याउन आवश्यक रहेको बताए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रविधिको अधिकतम् उपयोग गरी मुलुक र जनतालाई बढीभन्दा बढी फाइदा पुर्‍याउन उच्चस्तरमा संवाद र छलफल गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा युवा उद्यमीहरु कुशल गुरुङले कृषिका लागि वायोग्यास प्लाण्टबाट उत्पादित जैविक मल र अभिषेक मल्लले सौर्य विद्युत्बाट सञ्चालन हुने सिँचाइ प्रणालीको उपादयता, विद्यमान अवस्था र सम्भावनाका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए ।

परिसङ्घका अध्यक्ष गुणराज ढकालको सभापतित्वमा भएको सो अन्तरक्रियामा कृषिविज्ञ डा सुधा सापकोटा, ऊर्जाविज्ञ डा इन्दिरा शाक्य, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा सुनील लोहनी, केन्द्रका सहायक निर्देशक मुकेश घिमिरे, नेपाल वायोग्यास प्रवद्र्धन सङघका अध्यक्ष प्रकाशचन्द्र सुवेदी र नेपाल सौर्य विद्युत उत्पादक सङघका अध्यक्ष इन्द्र खनालले नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट कृषि क्षेत्रमा ल्याउन सकिने सुधारका बारेमा बोलेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments