अर्घाखाँचीमा ६० प्रतिशत रोपाइँ सम्पन्न

अर्घाखाँची :सरकारी कर्मचारीलाई असार मसान्तले भ्याइनभ्याई छ । मसान्तको समय वर्षभरी गरेका कामको भुक्तानीको समय भएकाले दिनरात नभनी कर्मचारीहरु व्यस्त छन् । कर्मचारी व्यस्त भएजस्तै अर्घाखाँचीका कृषकलाई पनि धान रोप्ने चटारो छ । लामो समयसम्म पानी परेपछि अर्घाखाँचीका कृषकहरु धान रोपाइँमा व्यस्त छन् ।

पानी नलाग्ने टारी खेतमा पनि आकाशे पानीको भरमा रोपाइँ भएका छन् । मानो रोपेर मुरी फलाउने अर्घाखाँचीका कृषकहरु धान रोप्न पाउँदा खुसी भएका छन् । धान रोपाइँमा पुरुषहरु ठिगारेका रुपमा र महिलाहरु खेतारीका रुपमा अर्घाखाँचीमा परिचित छन् ।

मुख्य पेशा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको पाणिनी–५ मैदानका हरिलाल भट्टराईले बताए । “८ रोपनी खेतमा २५ मुरी धान उत्पादन हुन्छ” उनले भने, “अहिलेसम्म चामल किन्नु परेको छैन ।”
जिल्लाका ६ वटै स्थानीय तहले दिएको जानकारी अनुसार हालसम्म करिब ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पाणिनी गाउँपालिकामा ३९३ क्षेत्रफल हेक्टरमा धान रोपाइँ गर्ने गरिन्छ । वर्षा राम्रो भएका कारण कृषकहरुले समयमै खेत रोप्न पाएका हुन् । पाणिनी गाउँपालिकाभित्र ६० प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको गाउँपालिकाका कृषि शाखा प्रमुख मेघनाथ पौडेलले बताए ।

अर्घाखाँचीमा साउनको पहिलो हप्तासम्ममा धेरै क्षेत्रमा रोपाइँ सम्पन्न हुन्छ । अर्घाखाँचीका विभिन्न ठाउँमा धानपकेट कार्यक्रम पनि सञ्चालन भएको छ । पाणिनी गाउँपालिकाको दुर्गाफाट, चिवेक, फर्सवाटाकुरा, छत्रदेवको मथुरा, चौवा, भूमिकास्थानको खाकाबेसी, सन्धिखर्कको बिहार, फुदवाङ्ग, कुडुले फाट, शितगंगाको सितखोला, विक्रम, पावर, लाहापे, मालारानीको बागींलगायतका ठाउँमा राम्रो धान उत्पादन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments