‘सुपारी जोन’ कार्यक्रममार्फत किसानलाई राहत ,पाँचवटा गोदाम घर निर्माण

झापा : कृषिलाई व्यावसायीकरण र सुपारी खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले झापामा घोषणा गरिएको ‘सुपारी जोन’ कार्यक्रममार्फत किसानलाई राहत मिलेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना एकाइ भद्रपुरअन्तर्गत स्थापना भएको सुपारी जोन कार्यक्रम मेचीनगर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालाई समेटर लागू गरिएको परियोजनाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले बताउनुभयो ।

सुपारी खेतीलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको सुपारी जोनलाई चालु आर्थिक वर्ष २०७७÷७८ मा रु २० लाख बजेट विनियोजन भएको थियो । सो बजेटबाट किसानले उत्पादन गरेको काँचो सुपारी तथा प्रशोधन गरिएको सुपारी राख्नका लागि कृषक समूह तथा सहकारीको १५ प्रतिशत र परियोजनाको ८५ प्रतिशत अनुदान रकममा पाँचवटा गोदाम घर बनाइएको छ । श्री कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अर्जुनधारा–९ मा परियोजनाको रु तीन लाख ५० हजार र सहकारीको रु एक लाख छ हजार ७८३ गरी कूल रु पाँच लाख १३ हजार ७८३ मा गोदाम घर बनाएको छ । गोदाम घरमा किसानले उत्पादन गरेको १७ मेट्रिक टनका दरले सुपारी सुरक्षित भण्डारण गर्न मिल्ने गरी अन्य चार स्थानमा समेत बनाइएको वरिष्ठ कृषि अधिकृत सुवेदीले बताउनुभयो । यसअघि किसानले उत्पादन गरेको सुपारी भाडाका घरमा राख्नुपर्ने बाध्यता थियो ।

किसानले उत्पादन गरेको काँचो सुपारी र प्रशोधन गरेपछि भण्डारण गरिने व्यवस्थित गोदामले किसानलाई थप राहत मिलेको उनीहरुको भनाइ छ । गत आव सुपारी जोनका लागि भनेर सरकारले रु ४५ लाख बजेट विनियोजन गरेको थियो । जोनले सूचना जारी गरेर अनुदानका लागि किसानलाई आह्वान गरे पनि कोभिड–१९ का कारण निवेदन नपर्दा आधाभन्दा बढी रकम फिर्ता गएको उहाँले बताउनुभयो । जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट २० हजारभन्दा बढी कृषक लाभान्वित भएको सुपारी जोन सञ्चालक समिति झापाका अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो । जिल्लामा दुई हजार ६८५ हेक्टर जमिनमा सुपारी खेती हुँदै आएको छ । मुलकभरमै सुपारीको व्यावसायिक खेती गर्ने पहिलो जिल्ला झापा नै भएको उहाँको दाबी छ । यद्यपि परियोजनाले अर्जुनधारा नगरपालिकाका सबै वडा र बुद्धशान्ति गाउँपालिकाको १, २, ३, ४, ५ नं वडाको ७८८ हेक्टर जमिनमा जोन विकास कार्यक्रम लागू गरेको छ ।

“सुपारी खेती गर्दै आएका किसानलाई नयाँ प्रविधि, सिँचाइ, मल र प्रशोधनको समस्या छ”, उहाँले भन्नुभयो, “जोनमार्फत त्यो पूरा हुन्छ होला भन्ने आशा थियो तर बजेट पर्याप्त नहुँदा परिणाम उस्तै छ ।” उहाँले सुपारी अन्य बालीको तुलनामा खेती गर्न सजिलो, धेरै आम्दानी हुने, सुपारीभित्रै अन्य बालीसमेत लगाउन मिल्ने हुँदा किसानको अझै पनि आकर्षण बढिरहेको बताउनुभयो । अध्यक्ष तिवारीले घरको सौन्दर्य बढाउन दुई चार बोट सुपारी रोप्नेदेखि पाँच बिघाभन्दा बढीमा व्यावसायिक खेती गर्ने किसान रहेको बताउनुभयो । जिल्लामा वार्षिकरूपमा नौ हजार ७७२ मेट्रिक टन प्रशोधित सुपारी उत्पादन हुँदै आएको छ । उहाँले जोनलाई प्रभावकारी बनाउन परियोजनाले किसानलाई सिँचाइको व्यवस्थासँगै सीप र ज्ञान बढाउन दक्ष प्रशिक्षकबाट प्रशिक्षित गर्नुपर्ने र पर्याप्त बजेटको व्यवस्था गरी अनुदान बढाएर किसानमा उत्साह थप्न अझै आवश्यक रहेको बताउनुभयो ।

खेतीको क्षेत्र विस्तार नगर्ने हो भने मुलुकमा उत्पादित सुपारीले मात्र यहाँको माग धान्न नसक्ने उहाँको भनाइ छ । अध्यक्ष तिवारीले माग धान्नका लागि अन्य मुलुकबाट १५ हजार मेट्रिक टन सुपारी आयात गर्दा पुग्ने अवस्थामा व्यापारीले विभिन्न बहाना बनाएर वार्षिक एक लाख २७ हजार मेट्रिक टन सिङ्गापुरे सुपारी नेपाल आयात हुने गरेको जानकारी दिनुभयो । आयातित सुपारी उनीहरुले भारततर्फ निर्यात गर्ने गरेका छन् । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments