धान गोड्न व्यस्त छन् बागलुङका किसान

बागलुङ : गत जेठ अन्तिम सातादेखि सुरु भएको मनसुनले किसानको खेतबारीमा सिँचाइको सुविधा राम्रो भयो । खेतबारी हरियाली हुँदा किसान औधी रमाएका छन् ।

वर्षाका कारण समयमा रोपाइँ गर्न पाएर किसानको खेतबारी हरियो बनेका हुन् । बागलुङका अधिकांश किसानले असारभित्रै सबै खेतमा धान रोपेका थिए । भदौ लाग्दा खेतमा धमाधम धान गोड्नेको लहर देखिएको छ । समयमा धान रोपेकोले यतिबेला गोड्ने बेलासमेत भइसकेको छ ।

निरन्तर वर्षाले धानको उत्पादनसमेत बढ्ने गरी रोपाइँ राम्रो देखिएको किसानले बताए । भदौको पहिलो सातासम्म दैनिकजसो वर्षा भएकोले धान राम्रो भएको बागलुङ नगरपालिका–३ का जङगबहादुर कार्कीले बताए ।

‘‘पानी निरन्तर परेको छ, त्यसैले धान राम्रो बढेको छ, यो वर्ष उत्पादन पनि बढ्ने आश लागेको छ,’’ उनले भने , ‘‘निरन्तर वर्षा भएकोले सिँचाइ सुविधा पुगेको छ ।’’

खेतमा पानी लगाउने भन्दै धाउनै नपरेको उलने भने । जिल्लाको काठेखोला जलाधार क्षेत्रमा खहरे, अक्षेते र गौडाकोट क्षेत्रमा बढी धान रोपिन्छ । दरमखोला जलाधार क्षेत्रको हटिया, हरिचौर, मल्म, काँडेवास र रिघा बढी उत्पादनको क्षेत्र हुन् ।

यस वर्ष बडिगाड गाउँपालिकाको ग्वालीचौर, खरवाङ र खार क्षेत्रमा पनि धानखेती राम्रो भएको छ । निसीखोलाका सबै फाँट, ढोरपाटन नगरपालिका, बागलुङको बलेवा, जैमिनी समेतमा धान उत्पादन बढ्ने सम्भावना देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले जानकारी दिए ।

उनका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । वर्षाले साथ दिएकोले सबै जमिनमा धान सपे्रको उनले बताए ।

गत वर्षभन्दा यो वर्ष छिटो रोपाइँ भएकोले उत्पादन १० देखि २० प्रतिशत बढी उनले प्रक्षेपण गरे । राम्रो उत्पादन हुँदा प्रतिहेक्टर ३ मेट्रिकटन धान फल्ने गरेको तथ्याङ्क छ ।

उनका अनुसार जिल्लामा २२ हजार ५०० मेट्रिकटन धान फल्ने अनुमान छ । ‘‘अनुकूल मौसममा किसानको १० देखि २० प्रतिशत धान उत्पादन बढ्ने गरेको छ, यो वर्ष बढ्ने गरी पानी परेको छ,’’ उलने भने , ‘‘छिटो रोपेकोले हिउँदेबालीका लागि पनि किसानलाई सहयोग मिल्नेछ ।’’

समयमा धान रोपेर छिटो थन्क्याउन पाउँदा किसानले तीन खेती लगाउन पाउने गरेको गलकोट नगरपालिका– ७ का टोपबहादुर थापाले बताए । गत वर्ष भने मनसुन कमजोर भएकोले ढिलो रोपाइँ भएको थियो ।

ढिलो रोपाइँ भएपछि उत्पादनसमेत घटेको थियो । कोरोना सङ्क्रमणले खेतालासमेत पाएका थिएनन् । यो वर्ष समयमै काम भएकोले सामाजिक दुरी कायम गर्ने, मास्क लगाएर काम गर्ने कारणले समयमा काम भएको कार्कीले बताए ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments