५० लाखको लगानीमा व्यावसायिक कालिज पालनमा रमाउँदै युवा

बाँके : बाँकेको खजुरा गाउँपालिका निवासी युवा दीपक पौडेलले व्यावसायिक कालिजपालनबाट मनग्गे आम्दानी गर्न थालेका छन् । खजुरा–४ मा व्यावसायिक कालिजपालन गरेका पौडेलले कालिजको एक दिनको चल्लालाई रू. एक हजार ४०० मा विक्री गर्ने गरेको बताए ।

‘एक दिनको चल्ला रू। एक हजार ४०० मा विक्री गर्ने गरेको छु, फार्ममै आएर चल्ला लिने गरेका छन्’, उनले भने, ‘खानलायक भइसकेको एउटा कालिजलाई रू। तीन हजार ५०० पर्दछ ।’ अष्ट्रेलियाबाट कालिजको अण्डा मगाएर फार्ममै ह्याचरिङ गरी चल्ला निकालिएको उनले जानकारी दिए । अहिले उनको खजुरा कृषि फार्ममा एक हजारभन्दा बढी कालिजका चल्ला छन् । कालिजका चल्ला फार्मबाटै धमाधम विक्री हुने गरेका छन् ।

रू. ५० लाखको लगानीमा कालिजपालन शुरु गरेको जानकारी दिँदै उनले दशैँसम्म हजारभन्दा बढी कालिज विक्री गर्ने लक्ष्यसहित चल्ला हुर्काउन लागिपरेको बताए । ‘दशैैँसम्म एक हजारभन्दा धेरै कालिज खानलायक बनाएर विक्री गर्ने योजना छ’, उनले भने, ‘दशैँभन्दा पहिले नै कालिज विक्रीका लागि तयार भइसक्छन्, कालिजको माग जिल्लामा अत्यधिक छ ।’

बाँकेमा कालिजपालनका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम रहेको छ । कालिजले ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम सहन सक्दैन तर बाँकेमा गर्मीमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्छ । त्यसका लागि सकेसम्म धेरै गर्मी हुन नदिन व्यवस्था मिलाइएको उनले बताए । कालिजलाई राख्नका लागि पौडेलले जाली लगाएका छन् । कालिजले घाँस, दाना, मकै, गहुँ खान्छन् ।

बाँकेजस्तो गर्मी हुने स्थानमा कालिजको व्यावसायिक पालन चुनौतीपूर्ण रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा भूपेन्द्र ओलीले जानकारी दिए । उनले कालिजको व्यावसायिक पालन चिसो ठाउँमा सम्भव हुने भएकाले गर्मीमा कालिज पालन फस्टाउन गाह्रो हुने भए पनि असम्भव भने नभएको बताए ।

गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नयाँ व्यवसायका रूपमा युवा किसान पौडेलले व्यावसायिक कालिजपालन गरेर गाउँपालिकालाई नै चिनाउने काम गरेको बताए ।

उनले इच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने र सम्भव हुने कुरा पौडेलले कालिजपालन गरेर प्रमाणित गरेको जनाउँदै गाउँपालिकाबाट पौडेललाई व्यावसायिक कालिजपालनका लागि हरप्रकारको सहयोग गर्न आफू तयार रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments