बिरुवा बिक्री नहुँदा ठूलो लगानीका नर्सरी किसान चिन्तित

रुकुम : यसवर्ष रुकुम पश्चिमका व्यावसायिक किसानले उत्पादन गरेका बिरुवा बिक्री नहुँदा ठूलो लगानीका नर्सरी किसान चिन्तित बनेका छन् । विभिन्न प्रजातीका गैरकाष्ठ तथा नर्सरीजन्य बोट बिरुवा नर्सरी फार्ममै थन्किएकाले किसान चिन्तित बनेका हुन् ।

हरेक वर्ष मनसुन सुरु भएसँगै नर्सरीजन्य बोट बिरुवाको उच्च माग र बिक्री प्रक्रिया सुरु हुने गर्दछ । किसानको मागका आधारमा स्थानीय सरकार र सरोकारवाला निकायले समेत बर्खे बिरुवा खरिद र वितरण कार्यलाई सुरु गर्दछन् । तर रुकुम पश्चिममा यो वर्ष लाखौं रकम खर्चेर व्यावसायिक नर्सरी खेती गर्दै आएका किसानले भने जिल्लाका कृषिसँग सम्बन्धित सरोकारवाला निकायले बेवास्ता गरेको बताउँदै आएका छन् । स्थानीय उत्पादनलाई ख्यालै नगरी बाहिरी जिल्लाबाट नर्सरी बिरुवा खरिद गरिएकै कारण आफूहरु मारमा परेको नर्सरी किसान नरेन्द्र रानाको भनाइ छ ।

मुसिकोट नगरपालिका–५, सेरीगाउँमा ३५ रोपनी जमिनमा सुवास नर्सरी फार्म सञ्चालन गरेका रानाले ८० हजार भन्दाबढी टिमुरका बिरुवालगायत अन्य प्रजातीका बिरुवा नर्सरीमै थन्किंदा ठूलो घाटा व्यहोर्नुपरेको बताए । रानाजस्तै जिल्लाका विभिन्न स्थानमा लाखौं रकम खर्चेर व्यावसायिक नर्सरी खेती गरेका अन्य किसानले पनि यसवर्ष नर्सरी बिरुवा बिक्री नभएपचि चिन्तित बनेका हुन् ।

यता नर्सरी किसानको गुनासो आइरहँदा जिल्ला स्थित डिभिजन वन, कृषि विकास, विभिन्न परियोजना र स्थानीय तहले पनि केही बिरुवा जिल्ला बाहिरबाट खरिद गरेका छन् । मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले भने नर्सरी किसानले बिरुवाको जात नखुलाउँदा र सम्बन्धित निकायलाई लिखित आग्रह नगर्दा बिरुवा बिक्रीमा समस्या देखिएको बताउँछन् ।

रुकुम पश्चिमका ६ वटै पालिकाले हरेक वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा समेट्दै आएका छन् । तर यो वर्ष स्थानीय उत्पादनभन्दा बाहिरबाट बिरुवा खरिद गरिएकाले जिल्लाका नर्सरी व्यवसायी मारमा परेका हुन् । जिल्लाभर २० भन्दा बढी नर्सरी फार्म कानुनी रुपमा दर्ता भई सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments