आधा अन्नबाली वन्यजन्तुलाई

डडेल्धुरा — यहाँका किसान वर्षदिन कठोर परिश्रम गर्छन् । बाली भित्र्याउने बेला भने ‘हात लाग्यो शून्य’ भनेजस्तो हुन्छ । जंगली जनावरले आधाभन्दा बढी अन्नबाली नष्ट गरिदिन्छन् । त्यसबाट आजित किसानको खेती मोह घट्दो छ ।
जंगली जनावरले बर्खे बाली नष्ट गर्दा जिल्लाको कुल खाद्य उत्पादनमा निकै ठूलो गिरावट आउन थालेको छ । ‘४५ देखि ५५ प्रतिशत अन्नबाली जंगली जनावरले नष्ट गर्न थालेका छन्,’ वरिष्ठ कृषि विकास प्राविधिक टेकबहादुर विष्टले भने, ‘वन्यजन्तुले ठूलो मात्रामा अन्नबाली नष्ट गर्न थालेपछि कुल उत्पादनमा पनि निकै कमी आउन थालेको छ ।’

मध्यपहाडी क्षेत्रको मुख्य खाद्य बाली मकैमा जंगली जनावरले सबैभन्दा बढी क्षति गर्न थालेका छन् । वरिष्ठ प्राविधिक विष्टले भने, ‘हरेक बालीमा वन्यजन्तुले क्षति पुर्‍याए पनि मुख्य रूपमा मकै र धान खेतीनै बढी नष्ट गर्न थालेका छन् ।’डडेलधुरा जिल्लामा मात्र ४ हजार हेक्टर क्षेत्रफलमा हुने मकै खेती जंगली बँदेलले हरेक वर्ष आधाभन्दा बढी क्षति पुर्‍याउने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।
जिल्लामा ६ हजार २ सय हेक्टर क्षेत्रफलमा हुने धान खेतीको अवस्था पनि यस्तै छ । सिँचाइ प्रणाली भएका ठूला खेतमा एकै राति बंँदेलको हूल आएर खेती नष्ट गर्न थालेको छ । झन्डै ९ हजार मेट्रिक टन मकै उत्पादन हुने डडेलधुरामा पछिल्लो समय मकै उत्पादनमा निकै गिरावट आएको छ । जिल्लाको अजयमेरु, भद्रपुर, चिपुर, देवल, समैजी, कोटेली, मणिलेक, बेलापुर, कैलपालमाण्डौ, नवदुर्गा, असिग्राम, गांखेत र आलीताल क्षेत्रमा बढी उत्पादन हुने मकै वन्यजन्तुले सखाप पार्न थालेको हो । कृषि ज्ञान केन्द्रका कर्मचारीका अनुसार विगत ५ वर्षयता मकै खेतीमा कमी आएको छ ।

हरेक वर्ष १३ हजार टन धान उत्पादन हुने गरे पनि हालका वर्षमा बिस्तारै घट्न थालेको छ । जिल्लाको भित्री मधेस क्षेत्रमा वन्यजन्तुको समस्या धेरै नभए पनि पहाडी क्षेत्रका सकायल, रुपाल, असिग्राम, भागेश्वर र देवलका ठूला धनाड क्षेत्रमा वन्यजन्तुका कारण धान उत्पादनमा निकै कमी आएको छ ।

यस वर्षको उत्पादनका विषयमा अहिले भन्न नसकिए पनि गत वर्ष धान र मकैको आधाभन्दा बढी उत्पादन वन्यजन्तुका कारण सखाप भएको वरिष्ठ कृषि प्राविधिक विष्टले बताए । उनले भने, ‘गत वर्ष वन्यजन्तुबाट खेतीपाती नष्ट भएका २ सय ३७ कृषकले निवेदन दिएका थिए ।’ यस वर्ष पहिलो चौमासिक नसकिँदै वन्यजन्तुका कारण खेतीपाती नष्ट भएको निवेदन दिने कृषकको संख्या दुई सय नाघिसकेको उनले बताए । कात्तिक/मंसिरसम्म बर्खेबाली नष्ट भएका कृषकहरूले निवेदन दिने गरेका छन् ।

७ रोपनी जग्गामा मकै खेती गरेका अजयमेरुका कृषक रामसिंह ऐरको डेढ रोपनी जग्गामा मात्र मकै बांँकी रहयो । दुई दिनमै जंगली बँदेलले ५ रोपनीभन्दा बढीमा लगाएको मकै बाली काम नलाग्ने गरी तहसनहस गरिदियो । भद्रपुरका अर्का कृषक गोविन्द पन्तको ५ रोपनी जग्गामा लगाएको मकै पनि यसरी नै जंगली बँदेलले नष्ट गरेपछि उनी समस्यामा परेका छन् ।

भएको जमिनमध्ये आधामा मकै खेती गरेका पन्तले गुनासो गरे, ‘मकै पाकेर टिप्ने समयमा एकै दिन सयौं बँदेलले सामूहिक रूपमा पूरै खेती नष्ट गरिदिए ।’ मकैसँगै पहाडी क्षेत्रमा नदी किनारामा रहेका धानका फाँटमा पनि जंगली बँदेलले आक्रमण गर्न थालेपछि कृषकहरूले खेतीपाती नै छोड्न बाध्य हुनुपरेको पन्तले बताए । ‘केही वर्षअघिसम्म जंगली बँदेलले कहिलेकाहीं मकैमा क्षति पुर्‍याए पनि धान खेतीमा पल्केको थिएन,’ उनले गुनासो गरे, ‘जंगली जनावरका लागि मात्र लगाउनुपर्ने भएको छ ।’

www.kantipurdaily.com

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments