राँगाको मासु भनेर भैँसीको मासु बिक्री,पशु बधशालालाई दर्ता गरेर मात्रै चलाउन निर्देशन

बनेपा: जिल्ला बजार अनुगमन समितिले आज काभ्रेपलाञ्चोकको बनेपा बजारमा गरिएको अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गर्ने पसल सञ्चालकलाई जरिवाना गरेको छ। पशु बधशाला सञ्चालकलाई बधशाला दर्ता गरेर मात्रै सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको टोलीले खाद्यान्न, मासु, कस्मेटिकलगायतका पसलको अनुगमन गरेको हो। अनुगमनका क्रममा बनेपा नगरपालिका–७ गोदामचोकमा रहेको इजीसपले तोकिएभन्दा बढी मूल्यमा सामान बिक्री गरेको पाइएको भन्दै पहिलोपटकका लागि रु पाँच हजार जरिवाना गरिएको छ ।

पसलका सञ्चालकले मूल्यसूची टाँस गर्ने क्रममा भुलवश बढी मूल्य टाँसेको स्वीकार गर्दै अब त्यसरी गल्ती नगर्ने बताए। त्यसैगरी, बनेपा नगरपालिका–९ शाहीटोलमा सञ्चालन गर्दै आएको पशु बधशाला बिनादर्ता सञ्चालन गरेको पाइएका कारण त्यसो नगर्न निर्देशन दिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख मोगलप्रसाद साहका अनुसार अनुगमनको क्रममा शाहीटोलमा विगत लामो समयदेखि सञ्चालन गर्दै आएको बधशाला बिनादर्ता चलाइरहेको पाइएको बताए ।

“मासु पसल दर्ता गरेर नाममा बधशालासमेत सञ्चालन गरेको पाइएको छ”, उनले भने, “पसल दर्ता एउटा, काम गराइ अर्को भएको पाइएका कारण तत्काल दर्ता प्रक्रियामा जानका लागि निर्देशन दिएका छौँ।” बनेपाको शाही टोलमा आठ-नौ बधशाला सञ्चालनमा आएकामा सबै बिनादर्ता सञ्चालन गरेको र त्यसरी सञ्चालनमा आएको बधशाला मापदण्डअनुसारको नभएको पाइएको छ ।

बधशाला सञ्चालन गर्दै आउनुभएका रीना शाहीले यसरी नियमपूर्वक बधशाला सञ्चालन गर्नुपर्ने भन्ने जानकारी नपाएको भन्दै त्यसका लागि आवश्यक सुझाव र प्रक्रियाका बारेमा जानकारी दिन आग्रह गरे। बनेपा तीन दोबाटोमा चण्डेश्वरी मासु पसल दर्ता गरी बधशाला समेत सञ्चालन गर्दै आएको उहाँले आफ्नो पसलबाहेक बनेपा र धुलिखेललगायतका अन्य पसललाई समेत मासु बिक्री गर्दै आइरहेको बताए ।

त्यसरी मासु पसलमात्रै दर्ता गरेर बधशाला सञ्चालन गर्दै आएका व्यवसायीलाई समूहमा मिलेर बधशाला दर्ता गराइपाऊँ भन्ने सामूहिक निवेदन लिएर नगरपालिकामार्फत आउन र त्यसपछि आवश्यक प्रक्रिया मिलाएर बधशाला सञ्चालनको व्यवस्था गरिदिने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख साहले बताए ।

त्यसरी सञ्चालनमा आएको बधशाला सञ्चालकलाई दर्ता गरी बिक्री वितरण गर्ने क्रममा बिलमार्फत मात्रै कारोबार गर्न निर्देशन दिएका छन्। बधशाला सञ्चालक शाहीले आफूहरुले फोहर व्यवस्थापनका लागि पटक–पटक नगरपालिकालाई ढलको व्यवस्थापन गरिदिन आग्रह गर्दा पनि वेवास्ता गरेको गुनासो गरे ।

“हामीले फोहर व्यवस्थापनका लागि भनेर नगरपालिकालाई मासिक रु ६० हजार तिरिरहेका हुन्छौँ, तर न ढलको व्यवस्थापन गरिदिन्छ न अन्य सुविधा नै”, उनले भने, “पटक–पटकको आग्रहपछि राखिदिएको पाइप पनि त्यसभित्र पानी धेरै गयो भनेर अर्को साना जाली राखिदिएको छ, जसका कारण फोहर फाल्नका लागि समस्या भइरहेको छ ।”

राँगाको मासु भनेर भैँसीको मासु बिक्री

बनेपाको विभिन्न मासु पसलमा बिक्रीका लागि राखिएका मासु र त्यसमा राखेको बोर्डमा राँगाको मासु पाइन्छ भनेर लेखेको भए पनि अनुगमनका क्रममा बधशालामा भैँसी मात्रै काटेको पाइएको अनुगमन समितिले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुनुवार नेतृत्वको टोलीले गरेको अनुगमनको क्रममा गोठमा राखिएको ठाउँमा सबैजसो भैँसी मात्रै पाएको बताए। काटेर बेच्ने भैँसी, पसलमा राँगाको मासु भनेर बेच्ने गरेको भन्दै त्यसो नगर्नसमेत व्यवसायीलाई निर्देशन दिएको छ ।

बधशाला सञ्चालक दिलकुमार शाहीले भने बजारबाट राँगा नआइपुगेका कारण अहिले भैँसी मात्रै काटेर बिक्री गर्दै आएको बताए। उनले भने, “तराईबाट ल्याउनुपर्ने भएकाले कहिलेकाहीँ ढिला आइपुग्ने र बाटोका समस्याले बेलामा नआइपुग्ने अवस्था भएको हो ।”

एकातिर बधशाला बिनादर्ता सञ्चालन गर्नु, अर्कोतिर राँगाको मासु भनेर भैँसी काटेर बेच्ने गरेका कारण पशुबधशाला तथा मासु जाँच ऐन र स्थानीय सरकार सञ्चालन ऐनअनुसार कारबाही हुने विज्ञ केन्द्रका डा साहले बताए। भैँसी र राँगाको मूल्यदर छुट्टै हुने भएकाले काटेर बेचे पनि उपभोक्तालाई नझुक्याइकन भैँसी र राँगाको नै भनेर प्रष्टरूपमा भनेर बेच्नसमेत उनले व्यवसायलाई निर्देशन दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments