राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक बङ्गुरपालनमा लोभिँदै सञ्चारकर्मी

तनहुँ: बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत शर्मिला विक व्यावसायिकरूपमा बङ्गुरपालनमा लागेकी छन्। बङ्गुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चार क्षेत्रसँगै उक्त व्यवसायतर्फ आकर्षित बनेकी हुन् ।

विगत तीन वर्षअघि दुई–तीन वटा बङ्गुर मासुको लागि पाले पनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालेको उनले बताइन्। तीन वटा माउले एक पटकमा १५-१६ का दरले पाठापाठी दिँदा वर्षमा झण्डै रु छ लाख बराबर आम्दानी लिन सकिने उनले बताइन्। आफूलाई फुर्सद नभएको समयमा पति विजयले रेखदेख र दाना चोकर दिने कार्यमा सहयोग गर्ने गरेको उनले बताइन् ।

बङ्गुर छ-छ महिनामा वर्षमा दुई पटक ब्याउँछ। हाल खोरमा छवटा माउ छन् भने २४ वटा पाठापाठी बिक्रीको लागि तयारी अवस्थामा पुगेका छन्। उनले भनिन्, “पैँतालिस दिन पुगेपछि प्रतिपाठापाठी रु छ हजार ५०० का दरले बिक्री गर्ने गरिएको छ।” बिक्रीका लागि बजारको कुनै समस्या नभएको र मागअनुरुपको पुर्याउनसमेत नसकिएको उनले बताइन्। अन्य व्यवसायको तुलनामा बङ्गुरपालन सजिलो, धेरै लगानी गर्न नपर्ने, पाल्न सजिलो हुने भएकाले आफू यसतर्फ उत्साहित भएर लागेको उनले बताइन् ।

बन्दीपुर गाउँपालिकाबाट बङ्गुरको खोर सुधारका लागि रु १५ हजार अनुदान पाएको विक बताउँछिन्। सुरुसुरुमा होटलबाट खानेकुरा सङ्कलन गरेर पाल्ने गरे पनि पछिल्लो समय ढुटो, पिना, कर्कलो र चोकर मिलाएर पकाई खुवाउने गरेको विक दम्पतीले बताए। बङ्गुरका लागि कर्कलो उपयुक्त हुने भएकाले व्यावसायिकरूपमै करकलो खेतीसमेत गरिएको उनीहरुले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments