किसानको खेतबारी गोलभेँडा पाकेर राताम्मे: बारीमै कुहिने डरले कम मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता

सर्लाही: किसानले लगाएको गोलभेँडा एकै समयमा बेच्न तयार भएपछि बजार भाउमा गिरावट आएको छ । सर्लाहीमा अहिले गोलभेँडा उत्पादनको मुख्य याम हो ।

अधिकांश किसानको खेतबारी गोलभेँडा पाकेर राताम्मे छ । यस क्षेत्रमा उत्पादन भएको गोलभेँडा बिक्री गर्न लालबन्दी ल्याइने भएकाले यहाँ अहिले गोलभेँडा प्रतिक्रेट (२५ केजी) ४०० रुपियाँमा बिक्री भइरहेको छ । क्रेटको ४०० रुपियाँले बेच्दा किसानले एक किलो गोलभेँडाको १६ रुपियाँ पाउँछन् । दुई साताअघिसम्म गोलभेँडा प्रतिक्रेट ८०० देखि हजार रुपियाँसम्ममा बिक्री हुने गरेको थियो ।

लालबन्दी नगरपालिका–१७, रानीगञ्जकी किसान जुना घिमिरेले मुख्ययाममा गोलभेँडाको मूल्य बर्सेनि घट्ने गरेको गुनासो गर्नुभयो । पाकेर राताम्मे भएका गोलभेँडा तत्कालै बिक्री नगरे बारीमै कुहिने भएकाले कम मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

व्यावसायिक रूपमा गोलभेँडा खेती हुने लालबन्दी र हरिवन नगरपालिकाका उत्तरी भेगका किसानलाई अहिले गोलभेँडा टिपेर बजारम्म ल्याई बिक्री गर्ने चटारो छ । यो याममा किसानले गोलभेँडा बेचेरै राम्रो कमाइ गर्छन् ।

लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले बजारमा धेरै गोलभेँडा भित्रिएका कारण केही दिनदेखि गोलभेँडाको मूल्य निरन्तर ओरालो लागिरहेको बताउनुभयो । आफूहरूले किसानसँग किनेको गोलभेँडा काठमाडौँ, नारायणघाट, वीरगञ्ज, सिन्धुलीलगायतका स्थानमा पठाइरहेको व्यापारी उस्मानले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments