व्यावसायिक उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्दै कृषक हेमबहादुर

तनहुँ : कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

व्यास नगरपालिका–१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थाल्नुभएको हो । करिब पाँच वर्ष कतारमा स्टोर किपरको राम्रो जागिर गर्नुभएका उहाँले स्वदेशमै केही गरौँ भन्ने सोचका साथ जागिर छाडेर आई व्यावसायिकरूपले उखु र मेवा खेतीतर्फ लाग्नुभएको हो । व्यास नगरपालिका–११ स्थित गैह्राबारी भन्ने स्थानमा लामा कृषि तथा पशु फार्म दर्ता गरी वार्षिक रु डेढ लाख भाडा बुझाउने गरी बाइस रोपनी जग्गा भाडामा लिएर लामाले उखु र मेवा खेती गर्नुभएको हो । करिब १७ रोपनी जमिनमा उखु र पाँच रोपनीमा मेवा खेती गरिएको किसान उहाँले बताउनुभयो ।

सुरुमा रु नौ लाख लगानी गरी व्यवसाय थालेको बताउनुहुने लामाले उखु गत असोज महिनादेखि र मेवा कात्तिक महिनादेखि उत्पादन लिन थालेको जानकारी दिनुभयो । पाँच महिनाको अवधिमा उखु करिब रु डेढ लाख र मेवा रु ५० हजारभन्दा बढीको बिक्री गरिसकिएको उहाँको भनाइ थियो । चिसोका कारण अहिले बिक्री न्यून रहे पनि गर्मी बढ्न थालेपछि बिक्री राम्रो हुने अपेक्षा छ । उक्त फार्ममा उत्पादन गरिएका उखु र मेवा जिल्लाको आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा र भिमाद बजारमा बिक्री हुँदै आएको छ । किसान लामाको व्यास नगरपालिका–३ अनशन चौतारीमा लामा फलफूल तथा जुस पसल रहेकाले कतिपय उत्पादित सामान पसलबाट पनि बिक्री हुने गरेकाले व्यापार गर्न सहज भएको छ ।

सुरुमा दुई हजार बोट काली उखु र तीन सय बोट रेडलेडी नाउँको मेवाको बिरुवा लगाइएकामा अहिले दैनिक राम्रो आम्दानी दिन थालेको बताइएको छ । एक वर्षअघि लगाइएको उखु तीन वर्षसम्म र एकपटक लगाइएको मेवाले दुई वर्षसम्म निरन्तर आम्दानी दिइरहने लामाका बाबु जयबहादुरले जानकारी दिनुभयो । फार्ममा रहेका कामदारलाई काम गर्न सिकाउनाका साथै आफू पनि दैनिक काम खट्ने गरेको उहाँले बताउनुभयो । अहिले दैनिक चार कामदारले रोजगारी पाइरहेका छन् । बाबु जयबहादुरले भन्नुभयो, “फार्मको रेखदेखदेखि काम गर्नेसम्मका जनशक्ति राखिएको छ ।” दुई छोरामध्ये एउटा छोरा होटल र अर्का छोरा फलफूल तथा जुस पसल सञ्चालन गर्दै आएपछि फार्म आफ्नै नेतृत्वमा सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

उखु प्रतिढकको रु ५० र मेवा प्रतिकिलो रु ८० मा बिक्री गर्ने गरिएको छ । उखु धादिङको नौबिसे र मेवा भारतबाट ल्याएर व्यावसायिक रुपमा खेती गरिएको हो । उक्त रेडलेडी नाउँको मेवाको बीउ एक किलोग्रामको रु एक लाखसम्म मूल्य पर्ने भएकाले महँगो रहेको जयबहादुरको भनाइ थियो । उखु जन्डिस रोगका लागि उपयुक्त हुने भएकाले त्यसलाई पेलेर करिब एक सय लिटर खुदो बनाएर राखिएको छ । लामाले भन्नुभयो, “खुदो प्रतिमाना रु ६०० मा बिक्री गर्ने गरिएको छ ।” फार्ममा उखु र मेवाको खेतीका साथै भैँसी कुखुरा र पानीहाँस पाल्ने कार्य पनि अघि बढाएको बताइएको छ ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments