, “जीवनमा सङ्घर्ष गर्न सिकेकाले भोकै रहनुपरेको छैन “

कञ्चनपुर:शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित मुक्त कमैँया बस्तीका केशव डगौरालाई विगतमा जस्तो अहिले मजदुरीमा जाने चटारोे छैन । घर खर्च चलाउनका लागि आर्थिक अभावसमेत छैन ।सहजरुपमा परिवारको खर्च चल्न थालेको छ । उहाँले घरमै कुटानीपिसानी मिल सञ्चालन गरेपछि को जीवनशैली नै परिवर्तन भएको छ । कुटानीपिसानी मिलसँगै केशवले घरमै बङ्गुर फार्म र किराना पसल सञ्चालन गर्नुभएको छ । निकै सङ्घर्ष गरेर प्रगति गर्नुभएका केशवको विगतका जीवन निकै सङ्घर्षपूर्ण रहेको छ ।

“कमैँया मुक्तिको घोषणापश्चात् पुनःस्थापन भएपछि कमाउने साधन केही थिएन”, उहाँले भन्नुभयो, “मजदुरी गरेर जीविका चलाउँदै आएका थियौँ । दिनभरि मजदुरी गर्दा रु ५० मात्रै ज्याला पाइन्थ्यो । त्यसले घर खर्च चालाउन सकिने अवस्था थिएन । सबै मजदुर एकजुट भयौँ । मजदुरी गर्ने ठाउमा ज्याला बढाए मात्रै काम गर्ने निधो गरेपछि ज्यालाको रकम बढाएर रु १०० कायम भयो । त्यसबाट परिवारको खर्च चलाउन केही सहज भयो ।” मुक्त कमैँयाका लागि बस्तीमा सिकर्मी कामका लागि तालिम आयो । त्यसमा केशव पनि सहभागी हुनुभयो ।

सीप सिकेपछि मजदुरीबाट आउने ज्यालाभन्दा बढी रकम पाइन थालेकाले परिवारका लागि खर्च जुटाउन सहज हुँदै आयोे । गरिबी निवारणका लागि बस्तीमा समूह गठन भयो । “समूहमा आबद्ध भए”, केशवले भन्नुभयो, “समूहबाट केही रकम कर्जाका लिए । त्यसबाट पुनःस्थापन हुँदा पाइएको पाँच कट्ठा जग्गामा तरकारीखेती गरेँ त्यसबाट तीन महिनामै रु २५ हजार हात लाग्यो । तरकारीखेतीको रकमबाट चार वटा बङ्गुरपालन गरेँ । बङ्गुर बेचेर समूहबाट लिएको कर्जा तिर्न पनि भ्याएँ ।”

“मनमा बस्ती वरपर कसैले नगरेको काम गर्नका लागि कुरा खेल्न थाल्यो । निकै सोच विचार गरेपछि कुटानीपिसानीको मिल सञ्चालन गर्ने निधो गरँे । मिल सञ्चालन गर्नका लागि बङ्गुर बेचेको केही रकम थियो ।” उहाँले बताउनुभयो, “पुनःसमूहबाट रु ५० हजार कर्जा लिएँ । धान कुट्ने उपकरण, आटा बनाउने चक्की र एक वटा डिजेल इञ्जिन राखेर काम सुरु गरेँ । कुटानीपिसानी मिलबाट आम्दानी बढ्दै गयो र त्यसपछि पैसाका लागि कसैसँग हात थाप्न नै परेन ।”

समूहबाट थप रु एक लाख कर्जा लिएर मिलमा लगानी गरी विद्युतीय मोटर पनि जडान गरेपछि केशवको आम्दानी झन बढ्न थाल्यो । हाल मिलमा उहाँले रु छ लाख लगानी गरी आधुनिक कुटानीपिसानीका उपकरण जडान गर्नुभएको छ । यसबाट मासिक रु २५ हजारदेखि रु ३५ हजारसम्म आम्दानी हुन्छ । मिलकै कमाइबाट पालिएका बङ्गुरबाट वार्षिक रु ७० हजार र किराना पसलबाट रु १५ हजार मासिक आम्दानी हुने गरेको छ ।

नौ जनाको परिवारको खर्चसमेत व्यवसायबाटै आएको आम्दानीबाट धानिएको छ । छ कोठाको पक्की घरसमेत केशवले निर्माण गर्नुभएको छ । मिलबाट कमाई हुने पैसाबाटै छोराछोरीको बीमासमेत गरिएको छ । बाह्र वर्षको उमेरमै कमैँया बसेर केशवले काम गर्नुभएको हो । “पैँतीस वर्षको उमेरसम्म कमैँया बसेर काम गरेँ”, उहाँले भन्नुभयो, “जीवनमा सङ्घर्ष गर्न सिकेकाले भोकै रहनुपरेको छैन । अरु जस्तै सहजरुपमा जीवनयापन गर्न सकिएको छ ।”

“समाजमा सम्मान र आदर पनि उत्तिकै पाइन थालेको छ ।” भविष्यका लागि केशवले बैंकमा रकम बचतसमेत गर्दै आउनुभएको छ । “लगनशील भएर कार्य गरे जीवनमा सफलता अवश्य पाइन्छ”, उहाँले भन्नुभयो, “सङ्घर्ष गरे थोरै पुँजीले पनि धेरै कमाई गर्न सकिँदोरहेछ । त्यसका लागि धैर्यता आवश्यक छ ।” (रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments