चक्लाबन्दीले निलुवाको सौन्दर्य गुम्ने डर

बागलुङ: खरका गोठ, मिलेका गरा, चौपायालाई चरन र वरिपरि वन । निलुवा टेक्दानटेक्दै आँखामा ठोक्किहाल्ने दृश्य हुन्, यी । यिनलाई झिकिदिने हो भने निलुवाको चिनारी अपूरो हुन जान्छ । मनोरम भूबनोट, लेकाली हावापानी र ग्रामीण जनजीवन त्यसका प्राण हुन् ।प्रकृतिले सिङ्गारेको उपत्यका हो, निलुवा ।

गलकोट नगरपालिका–४ स्थित पर्यटकीय गन्तव्यस्थल निलुवामा हालै जग्गा चक्लाबन्दी कार्यक्रम सुरु गरिएपछि त्यहाँको मौलिक स्वरुपलाई लिएर चिन्ता व्यक्त भइरहेका छन् । जग्गा चक्लाबन्दी गर्दा निलुवाको सौन्दर्य खलबल्लिने र त्यसबाट पर्यटकीय आकर्षण गुम्ने डर देखिएको छ । व्यावसायिक कृषि उत्पादनका लागि वर्षौँदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गर्न थालिएको हो ।

निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रका अध्यक्ष ओमकार सुवेदीले चक्लाबन्दी गर्दा भौगोलिक बनोट र परम्परागत संरचनालाई धेरै बिगार्न नहुने बताए । “यहाँको खास आकर्षण भनेकै परम्परागत गोठथरी हुन्, यसको संरक्षण गर्नुपर्छ”, उनले भने, “कृषि उत्पादनसँगै पर्यटनबाट निलुवाको विकास सम्भव छ ।”
निलुवालाई पर्यटनबाट चिनाउन पूर्वाधारमा लगानीसमेत भइरहेको छ । अध्यक्ष सुवेदीले घरबास ९होमस्टे०को योजना पनि अघि सारिएको बताए । “हाम्रा बाउबाजेले निलुवामा बनाएका परम्परागत गोठकै शैलीमा संरचना बनाइ घरबास चलाउने सोच बनाएका छौँ”, उनले भने ।

स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्थाले जग्गा चक्लाबन्दी कार्यक्रम सुरु गरेको हो । छरिएर रहेको खेतीयोग्य बाँझो जग्गा एकीकरण गर्न लागिएको सहकारीका अध्यक्ष चिन्तामणि शर्माले बताए । ७३ किसानको १५० रोपनी जग्गालाई चक्लाबन्दी गरिने उनको भनाइ छ । अध्यक्ष शर्माका अनुसार ५०० गरामा बाँडिएको जग्गा अब ४३ ‘प्लट’मा झर्नेछ । निलुवा उपत्यका छेउछाउको जग्गा नभई बीचतिर मात्र चक्लाबन्दी गरिने उनको भनाइ छ । “१५ वटा जति परम्परागत गोठथरी विस्थापित हुने देखिएको छ, तिनलाई हामी अर्को ठाउँमा सार्छौँ”, अध्यक्ष शर्माले भने, “पर्यटकीय आकर्षण बिगार्न नहुनेमा हामी सचेत छौँ, अब निलुवा कृषि र पर्यटनका माध्यमबाट सँगसँगै चिनिनेछ ।” त्यहाँ रहेका अरु २५ गोठथरी भने पुरानै स्वरुपमा रहने जनाइएको छ । 

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको रु ३६ लाख ४९ हजार अनुदान सहयोगमा चक्लाबन्दी कार्यक्रम सुरु भएको हो । सहकारीले प्रतिरोपनी वार्षिक रु दुई हजार तिर्ने गरी आउँदो २०८० सालसम्मलाई जग्गा भाडामा ल्याएको हो । जग्गा चक्लाबन्दी गरेपछि तरकारी, बीउबिजन र अन्नबाली उत्पादन गर्ने योजना सहकारीको छ । तरकारीजन्य उत्पादनतर्फ आलु, मुला, सिमी, सागलगायतको खेती गरिने भएको छ । अन्नमा मकै बाली लगाइनेछ । माटो परीक्षणपछि कृषि क्षेत्रका प्राविधिकले दिएको सुझावका आधारमा यामअनुसारको खेतीपाती गरिनेछ ।

चक्लाबन्दी कार्यक्रमले गाउँका किसानलाई लाभ पुर्‍याउने गलकोट नगरपालिकाका कृृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताए । “धेरै कित्ता र स्वामित्वमा बाँडिएको जग्गामा ठूलो लगानीको कृषि व्यवसाय गर्न कठिनाइ हुने गर्छ”, उनले भने, “चक्लाबन्दी गरेर जग्गालाई एकीकृत गर्दा भूमिको सदुपयोग बढ्नुका साथै कृषि उत्पादनमा वृद्धि हुन्छ, यसबाट किसानको आयआर्जन थपिन्छ र रोजगारी पनि सिर्जना हुन्छ ।”

निलुवाको पर्यटकीय महत्व उजागर हुन थालेपछि त्यहाँको विकासमा राज्यका निकायदेखि स्थानीयवासी पनि लागिपरेका छन् । गलकोट नगरपालिकाको रु ६० लाख र अन्य स्रोतबाट रु ४० लाख गरी रु एक करोड लागतमा निलुवामा सडकको पहुँच पुर्‍याइएको छ । गलकोट समाज जापानको सहयोगमा विश्रामस्थल बनेको छ । पदमार्ग, खानेपानीको मुहान संरक्षण र पदमार्गलगायतका पर्यटकीय पूर्वाधार बनेका छन् ।

केन्द्रका अध्यक्ष सुवेदीले निलुवाको मुख्य समस्याका रूपमा खानेपानी र विद्युत् रहेको बताउनुभयो । खरुवा र भैँसेतर्फबाट पनि सडक पुर्‍याउने योजना केन्द्रले बनाएको छ । केन्द्रको आयोजनामा केही वर्षअघि त्यहाँ मह शिकार महोत्सवको समेत आयोजना गरिएको थियो । निलुवामा ५०० मिटर अग्लो महभिर छ । 
निलुवा पुस्तौँदेखि गोठथरीका रूपमा थियो । गोठाला र किसानको मौसमी बासथलोका रूपमा रहेको निलुवा कुनैताका पशुपालन र खेतीपातीले हराभरा हुन्थ्यो । उबेला वर्षको दुई याम पशुचौपायासहित गाउँले गोठथरी जान्थे । बेँसीबाट फागुनमा गोठ गएपछि असारमा झर्ने र पुनः भदौमा गएर कात्तिकमा झर्थे । गोठथरी जानेलाई गोठ-लेक जाने पनि भन्ने गरिन्थ्यो । गोठ जाँदा किसान घाँसदाउरा र खेतीपातीमा भुल्थे ।

समयसालमा गोठथरीको चलन हरायो । वैदेशिक रोजगार, बजारमा परनिर्भरता, सविधाभोगी जीवन आदि कारणले कृषिमा आकर्षण घट्यो । परम्परागत गोठथरी रित्तिए । गोठथरी जाने चलन हराए पनि निलुवाले रैथाने कृषि प्रणालीको झल्को भने दिन्छ । दुई हजार १०० देखि दुई हजार २०० मिटरसम्मको उचाइमा फैलिएको निलुवाको भूबनोट र हावापानी लोभलाग्दो छ । त्यहाँबाट हिमशृङ्खला पनि देख्न सकिन्छ । पदयात्रा, वनभोज, दृश्य छायाङ्कन, अवलोकन भ्रमण र ‘क्याम्पिङ’का लागि आन्तरिक पर्यटक निलुवा पुग्ने गरेका छन् । निलुवामा पर्यटनमैत्री पूर्वाधारको भने कमी छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments