कृषिप्रधान देश:सात महिनामा २४ अर्बको तरकारी , १९ अर्ब रुपैयाँको चामल आयात

काठमाडौं: चालू आर्थिक वर्षको सात महिनामा आधा खर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि माघ मसान्तसम्ममा ५० अर्ब ५३ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि सो परिमाणमा खाद्यान्न आयात भएको हो । सात महिनामा १९ अर्ब २२ करोड ४३ लाख ५५ हजार रुपैयाँको चामल आयात भएको छ । यस्तै, सो अवधिमा १३ अर्ब ४४ करोड ३ लाख ६१ हजार रुपैयाँको मकै आयात भएको विभागको तथ्यांक छ ।

त्यसैगरी २४ अर्ब रुपैयाँको तरकारी, १३ अर्ब रुपैयाँको फलफूल, १६ अर्ब रुपैयाँको घिउतेल, साढे पाँच अर्ब रुपैयाँको चिया–कफी र साढे पाँच अर्ब रुपैयाँकै चिनी र चिनीबाट बनेका वस्तु आयात भएको छ । १६ अर्ब ८३ करोड रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ आयात भएको छ । यो वर्ष धानको उत्पादन घटेकाले स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो परिमाणमा खाद्यान्न आयात भएको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार आव २०७८÷०७९ मा धान उत्पादन ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार टनमा झरेको छ । अघिल्लो वर्षको तुलनामा ४ लाख ९१ हजार ८५ टन कमी भएको मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो । यो वर्ष १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ भएको थियो ।

गत असोज ३१ र कात्तिक १ र २ गते परेको बेमौसमी वर्षाले धान बाली सखाप पारेको थियो । त्यसको प्रत्यक्ष प्रभाव उत्पादनमा देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बेमौसमी वर्षाले मुलुकभरका १ लाख ११ हजार ६ सय ९ हेक्टरमा लगाइएको ४ लाख २४ हजार १ सय १३ टन धान बालीमा क्षति पु-याएको थियो । धान उत्पादन घटेपछि ७ महिनामा ठूलो परिणाममा चामलसँगै मकै, गहुँ तथा जौ आयात भएको छ । भारत, थाइल्याण्ड, भियतनाम, अष्ट्रेलिया, ताइवान, अर्जेन्टिना, चीन, टर्कीलगायत देशबाट खाद्यान्न आयात भएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments