रुस–युक्रेन युद्धको असर नेपाली भान्सामा

काठमाडौं: युक्रेनमाथि रुसको सैनिक हमलाको सिधा असर नेपालीको भान्सामा परेको छ । ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्यवस्तुको मूल्य छोइनसक्नु भएको छ ।

त्यो मात्रै होइन युद्ध सुरु हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको डलर र पेट्रोलियम पदार्थको मूल्यलाई रुस र युक्रेनको सैन्य भिडन्तले अरू बढाएको छ । त्यसै आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर समग्र क्षेत्रमा परेको छ ।

व्यापारीहरू भने यी दुईभन्दा बेग्लै अरू कारणले पनि मूल्य बढाउने गरेको दाबी गर्छन् । बैङ्कहरूले बढाएको ब्याजदर र निर्वाचन घोषणा भएपछिका राजनीतिक र अन्य कारणले पनि मूल्य बढाएको दाबी उनीहरूको छ । यस आधारमा नेपाली उपभोक्ता सर्वसाधारण मूल्य वृद्धिको पञ्चाग्निमा सेकिएका छन् ।

रुस–युक्रेन युद्धले पेट्रोलियम पदार्थ मात्र नभई खाने तेलमा समेत प्रत्यक्ष असर पारेको हो । खाने तेल र कच्चा पदार्थ रुस र युक्रेनबाट आउनेमा त्यो बन्द भएको छ तर त्यो मात्र नभई दाल, चामल, चिनी, तरकारी, फलफूललगायत सबैजसो वस्तुको मूल्य दिनदिनै उकालो लागिरहेको छ । स्थानीय तह निर्वाचनका कारण मूल्य वृद्धिको असर अब देखिने व्यापारीको भनाइ छ ।

नेपाल खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्रमान वज्राचार्य भने यसमा व्यापारीको दोष देख्छन् । उनले भने, “ठूला व्यापारीलाई मूल्य बढाउन के निहुँ पाऊँ भएकाले ठूला व्यापारीलाई गतिलो अवसर मिल्यो । उनीहरूको अनुगमन हुँदैन खुद्रा पसलमा सरकारी निकाय आउँछन् ।”

सङ्घका अनुसार २०७६ फागुनमा कोरोना आएयता बढ्न थालेको खाद्यवस्तुको मूल्य वृद्धि अहिलेसम्म जारी छ । २०७७ फागुनसम्म आइपुग्दा विश्वको आपूर्ति प्रणाली नै ध्वस्त पार्ने गरी कोरोना महामारी विश्वव्यापी रूपमा फैलिँदा त्यसको अन्तर्राष्ट्रिय प्रभाव नेपालमा पनि परेको हो ।

सङ्घले २०७६ फागुनमा प्रतिलिटर २७० रुपियाँमा पाइने भुटेको तोरीको तेल मूल्य २०७८ फागुनमा प्रतिलिटरमा १३० रुपैयाँ बढेर चार सय रुपियाँ पुगेको जनाएको छ । यस्तै, सो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १७० बाट बढेर ३८५, भटमास तेल प्रतिलिटर १६० बाट बढेर २७०, सूर्यमुखी प्रतिलिटर १६० बाट २९० रुपियाँ पुगेको छ । नेपाली घ्यू प्रतिलिटर ८५० बाट बढेर एक हजार दुई सय रुपैयाँ पुगेको छ । तीन वर्षको मूल्य हेर्दा प्रतिलिटर घ्यूमा ३५० रुपैयाँ बढेको छ ।

त्यस्तै, २०७६ फागुनमा प्रतिकेजी ७० रुपैयाँ खुद्रा मूल्यमा पाइने ताइचिन चिउरा १३० रुपैयाँ र प्रतिकेजी ८० रुपैयाँमा पाइने चिनी प्रतिकेजी सय रुपैयाँ पुगेको छ । यीबाहेक, चामल, मासको दाल, जिराको पाउडरलगायत धेरैजसो वस्तुको मूल्य निरन्तर बढिरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments