याङवरकको ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना

पाँचथर:पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ । दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको हो । याङवरक गाउँपालिकाको रु आठ लाखको लागतमा उक्त केन्द्र स्थापना भएको हो ।

शनिबार आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले सो केन्द्रको उद्घाटन गर्नुभयो । प्रशस्तै दूध उत्पादन हुने यस स्थानमा चिज उत्पादन गरी स्थानीयवासीको दीर्घकालीन आम्दानीको स्रोत बनाउने, पशुपालन तथा दूध उत्पादनमा बढावा दिई रोजगारी सिर्जना गर्ने र गुणस्तरीय चिज विदेशसम्म निर्यात गर्ने उद्देश्यसहित चिज उत्पादन केन्द्र स्थापना भएको हो । चिज उत्पादन केन्द्रको स्थापनाले पशुपालक स्थानीयवासीलाई ठूलो राहत मिल्नुका साथै पशुपालन र दूध उत्पादनमा हौसला मिल्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष घिमिरेले बताउनुभयो ।

चिजका अतिरिक्त शुद्ध दूधबाट दुग्धजन्य सामग्री उत्पादन गरी याङवरक गाउँपालिकाको पहिचान बनाउन समेत सो केन्द्र सफल हुने अध्यक्ष घिमिरेले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा याङवरक–५ का वडाध्यक्ष टेकनाथ न्यौपानेले चिज उत्पादन केन्द्रको स्थापनाले स्थानीय दूध उत्पादक किसानलाई व्यावसायिक बनाउन तथा गुणस्तरीय दूग्ध सामग्री उत्पादन गर्न मद्दत गर्ने बताउनुभयो । केन्द्रको नियमित सञ्चालनका लागि सबै पक्षबाट निरन्तर सहयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उत्पादन केन्द्रका लागि गतवर्ष नै दुई तले भवन निर्माण भइसकेको थियो । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष घिमिरेले केन्द्रका लागि पक्की र व्यवस्थित भवन निर्माण आवश्यक रहेको भन्दै त्यसका लागि पहल गर्ने बताउनुभयो । चिज उत्पादन केन्द्रमा अहिले दैनिक २०० लिटरसम्म दूध सङ्कलन हुने गरेको केन्द्रका अध्यक्ष कालिन्द्र तावाले जानकारी दिनुभयो । कार्यक्रममा याङवरक गाउँपालिकाका सदस्य, गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारी, स्थानीय राजनीतिक दल तथा सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीयवासी लगायतकोसमेत सहभागिता थियो ।

सो अवसरमा केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, खानेपानीको मुहान उपलब्ध गराउने तथा खानेपानीको प्रबन्ध गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments