रुकुमकोटमा खानेपानीको हाहाकार

रुकुमपूर्व: रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो । हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ ।

अहिले पनि दुई साता बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको नागरिकले बताएका छन् । कहिले धारामा पानी नझर्ने र कहिले एक–आधा घण्टामात्र धारामा पानी झर्दा पिउन तथा पानीसँग जोडिएका दैनिक कामकाज गर्न समस्या भइरहेको सिस्ने गाउँपालिका–५ टाकुराका विकास बिसीले गुनासो गरे । धारामा पानी नझर्दा गाग्रीमा पिउने पानीसमेत नहुने बिसीले बताए ।

यस्तै काजिन्द्रामा बिएलबी होटल सञ्चालन गर्दै आएका विनोद केसीले पनि धारामा पानी नझर्दा समस्या हुने गरेको बताए । एक सातायता धारामा पानी अनियमित हुँदा हाहाकार मच्चिएको केसीले बताए। पानी नभएकै कारण होटलमा आउने मान्छेलाई रोक्नुपर्ने अवस्था आइसकेको केसीले बताए ।

अहिले सिस्ने–५ मा तीनवटा मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेकै कारण धारामा पानी अनियमित हुने गरेको रुकुमकोट खानेपानीका प्राविधिक सुन्दर शाहले बताए। उहाँका अनुसार अहिले सिस्ने–५ मा रासु छहरा, तुरतुरे धारा र ठाराखोलाको मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेको तथा प्राविधिकले पनि फिल्टर सफा नगरेको र पालो नमिलाएका कारण यो समस्या आएको उनले बताए ।

अब भने समस्या समाधानका लागि पालो मिलाएर पानी वितरण गरिने भएको छ । प्राविधिक शाहका अनुसार टाकुराको थापाटोलमा बिहान ६ देखि ८ बजेसम्म, चोकबजार टोलमा ८ देखि १० बजेसम्म र बाहुनठाना टोलमा ८ देखि ९ बजेसम्म पानी छाडिने छ । साँझ भने यी सबै ठाउँमा ३ देखि ६ बजेसम्म पानी छाडिने शाहले बताएका छन् ।

सिस्ने–५ का वडाध्यक्ष शान्तेबहादुर विकले भने खानेपानीमा देखिएको यो समस्यालाई तत्काल समाधान गर्न अर्को वैकल्पिक मुहानबाट पानी ल्याउन लागेको बताएका छछन् । केही दिनमै खानेपानीमा देखिएको समस्या समाधान हुने वडाध्यक्ष विकले बताए । समस्याको दीर्घकालीन समाधान भने थाक्नाखोलाको खानेपानी आयोजना निर्माण भयो भने हुने उनको भनाइ छ । थाक्नाखोला खानेपानी आयोजना करिब रु पाँच करोडको लागतमा निर्माण हुन लागेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments