व्यावसायिक बङ्गुरपालनतर्फ किसानको आकर्षण

दमक: पछिल्लो समय झापामा बङ्गुरपालनतर्फ किसानको आकर्षण बढेको पाइएको छ ।

बङ्गुरपालन व्यवसाय प्रवद्र्धनका लागि सरकारले प्रोत्साहनका कार्यक्रममा जोड दिन थालेपछि किसान व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुँदै गएका हुन् ।

दुई वर्षअघि कोरोना महामारीले विभिन्न ठाउँमा रोजगारी गर्दै गरेका युवा गाउँ फर्किएपछि स्वरोजगार बन्न पनि गाउँघरमै बङ्गुरपालन थालेकाले किसान बिस्तारै यस कर्ममा बिस्तारै व्यावसायिक बन्दै गएका छन् । झापामा केही वर्षअघिसम्म बङ्गुरपालन गर्ने किसान सीमित सङ्ख्यामा मात्र थिए ।

तीन वर्षयता जिल्लामा बङ्गुरपालक किसानको सङ्ख्या बढेर पाँच सयभन्दा धेरै पुगेको बङ्गुर व्यवसायी सङ्घ प्रदेश नं. १ का अध्यक्ष सञ्जीव कुलुङ्ग राईले बताए । त्यसमध्ये जिल्लाको कमल गाउँपालिकामा बङ्गुरपालकको सङ्ख्या धेरै रहेको छ । त्यहाँ गाउँपालिकाले बङ्गुरपालन धेरै गरिएका वडा नं. ३ र ४ लाई लक्षित गरी पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ ।

दुई दशकभन्दा बढी व्यावसायिक बङ्गरपालन गर्दै आएका सङ्घका प्रदेश अध्यक्ष राईले बङ्गुरपालनमा स्थानीय, प्रदेश र सङ्घीय सरकारका तीनै तहका सरकारले अनुदानलगायत कार्यक्रम सञ्चालनमा जोड दिन थालेपछि बङ्गुरपालन व्यवसायतर्फ किसानको आकर्षण बढेको बताए ।

सरकारले औजार खरिद र अन्य व्यवसाय वृद्धि विकासमा समेत अनुदान दिँदै आएकाले पनि बङ्गुरपालनमा किसान बढ्दै गएका उनको भनाइ छ । बङ्गुरपालनमा आकर्षण बढेपछि पछिल्लो आर्थिक मन्दी र दानाको मूल्य वृद्धिले साना बङ्गुरपालक किसानमा भने समस्या आउन थालेको किसानको गुनासो छ । बङ्गुर उत्पादनमा वृद्धि भए पनि उचित बजार नहुँदा समस्या हुँदै गएको अध्यक्ष राई बताउँछन् ।

प्रदेश नं. १ बङ्गुरको मासु उत्पादनका लागि आत्मनिर्भर प्रदेश भएको सरकारी तथ्याङ्क छ । नेपालभर पालिने र मासुका लागि प्रयोग हुने बङ्गुरमध्ये ६० प्रतिशत बङ्गुर प्रदेश नं. १ मा नै पालिने गरेको प्रदेश नं. १ कृषि मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए । उनका अनुसार प्रदेशमा सबैभन्दा धेरै झापामा बङ्गुर पालिने गरिएको छ ।

मासुका लागि बङ्गुर पालिने गरिँदै आएका र बङ्गुर मासुका लागि यस जिल्लाले देशको ६० प्रतिशत बजार लिँदै आएको समेत उनले जानकारी दिए । झापामा पालन गरिएका बङ्गुर स्थानीय बजारदेखि काठमाडौँ र पश्चिमका जिल्ला तथा छिमेकी देश भारत, भूटानसम्म ठूलो परिणाममा निर्यात हुँदै आएका छन् ।

प्रदेश नं. १ मा बङ्गुरपालनको सम्भावना देखेर प्रदेश सरकारले बङ्गुर प्रवद्र्धन कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । त्यो कार्यक्रममार्फत प्रदेशभरिका ११८ किसानले अनुदान पाएको मन्त्रालयले उल्लेख गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments