आजदेखि सातौँ कृषि गणना शुरू

काठमाडौं : आज (मंगलवार)देखि सातौँ कृषि गणना शुरू हुँदैछ । ७ सय ५३ पालिकाका ३ लाख ५० हजार किसानका घरमा पुगेर आजदेखि कृषि गणना गर्न शुरू हुने भएको हो ।

जसका लागि ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

आज (मंगलवार)देखि १९ सम्म सञ्चालन हुने कृषि गणना स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल तीन लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषि क्रियाकलाप सम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने भएको छ। तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ।

सातौं कृषि गणनामा गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन्। राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिन केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कमा नेपालमा हाल झण्डै ६६ प्रतिशत किसान रहेका र कूल गार्हस्थ उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ। राज्यले कृषिप्रधान मुलुक भने पनि भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको आठ महिना फागुन मसान्तसम्म कूल आयातको करिब एक तिहाइ अंश प्रत्यक्ष कृषिजन्य उत्पादनको छ।

यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागतरुपमा बाँझो जमिनको तथ्याङ्क सङ्कलन गरिने भएको छ। यसअघिको कृषि गणनाले १० लाख हेक्टर जमिन बाँझो रहेको उल्लेख छ। विज्ञका अनुसार नेपालमा बाँझो जमिनको आँकडा फराकिलो बन्दै गएको छ।

सातौं कृषि गणनाले किसानको सङ्ख्या, पशुपक्षीको गणना, कृषि ऋण, कृषि मजदुर, कृषिमा महिलाको सहभागिता, सिँचाइ, अनुदान लिने किसानको सङ्ख्या, कृषि औजारको प्रयोग, कृषिमा यान्त्रिीकीकरण, कृषि बिमा, रासायनिक मल, उन्नत बीउविजनको प्रयोग आदिका बारेमा तथ्याङ्क बाहिर आउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments