एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुला: दार्चुलाको अपी हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्ष भरलाई खर्च जुटाउँछन् ।

पढाइ सामान्य साक्षर मात्र गरेका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउँछन् । घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनी सुनाउँछन् ।

यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन् । यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा सङ्कलनमा लेकतिर जाने गर्छन् । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा सङ्कलनमा समेत असर पर्याे । यस वर्ष यार्सागुम्बा वैशाखमै सङ्कलन भयो । सङ्कलन गरेकाहरूले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन् ।

अपिहिमाल–१ का ललित जाग्रीले भने, “एक महिना मेहनत गर्यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्य मूलक किन जानुपर्यो ? यार्सागुम्बा मात्र नभई सतुवा, वन लसुनलगायतका थुप्रै जडीबुटी यो क्षेत्रमा पाइन्छन् ।”

यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुगेका छन् । व्यापारी आफैं घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन् । यस वर्ष व्यापारीले प्रतितोला रु १५ हजारदेखि रु १८ हजार हालेर यार्सागुम्बा खरिद गरेका छन् । विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन् ।

यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ । स्थानीय धनसिंह जाग्री जिल्लाभरिबाट अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको बताउछन् । जिल्लाबाट सबैभन्दा बढी यार्सागुम्बाको व्यापार गर्दै आएका जाग्री यस पटक व्यापारी पनि विगतको तुलनामा गाउँमा बढी पुगेको बताए।

यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व सङ्कलन

अपी नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपी हिमाल गाउँपालिकाको सातगङ्गा, चाइमेटला, लोलु, रोखापु, धरमघर र काटै तथा व्यास गाउँपालिकाको अपी फेद, दूधीवनलगायतका वनमा यार्सागुम्बा सङ्कलन भएको हो ।

जिल्लाबाट यस वर्ष असारसम्म ७२२ किलोग्राम यार्सागुम्बाको छोडपूर्जी जारी भएको छ । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बाको छोडपुर्जीबाट प्रतिकिलो रु ३० हजारका दरले कूल दुई करोड १६ लाख ६० हजार राजस्व सङ्कलन गरेको अपी नाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी इन्द्रसिंह नगारीले जानकारी दिए ।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व सङ्कलन गर्ने गरेको छ । दुई वर्ष कोरोना भाइरसको महामारीका कारण यार्सागुम्बा सङ्कलन र निकासी घटेको थियो । यार्सागुम्बा सङ्कलन र निकासी घट्दा राजस्व पनि घट्दै गएको कार्यालयको यस वर्ष राजस्व दर अझै बढ्ने अनुमान गरिएको छ ।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ६६९ किलो, २०७४÷७५ मा ७६४ किलो, २०७५÷७६ मा ५४५ किलो, २०७६÷७७ मा ३२७ किलो र २०७७÷७८ मा ३०५ किलोग्राम यार्सागुम्बा जिल्लाबाट निकासी भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments