पहाडी खसीले धान्छ कैलालीको दसैंबजार

धनगढी — यो दसैंमा पहाडबाट आयात गरिएका पाखे खसीको माग बढेको छ । यसले भारतबाट आयात हुने देसी खसीबोकाको आयात घटाएको छ । पहाडको रैथाने जातको बाख्राबाट जन्मिएको खसीबोकालाई तराईमा ‘पाखे’ भनिन्छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख सहर धनगढीमा हरेक दसैंमा ठूलो संख्यामा खसीबोकाहरू पहाड र भारतबाट आउने गरेका छन् । ‘भारतबाट आयात हुने देसीको तुलनामा पहाडका पाखे खसीको माग बढेको छ,’ व्यापारी जीवन थापाले भने, ‘त्यसैले यो दसैंमा भारतबाट खसीबोकाहरू कम आयात भएका हुन् ।’

भारतबाट आयातित खसीबोकाको तुलनामा उपभोक्ताको रुचीमा पहाडी खसीबोका परेको उनले बताए । प्रदेशको प्रमुख सहर धनगढी, महेन्द्रनगर, अत्तरिया र टीकापुरमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट दसैंमा खसी बोकाहरू आउन सुरु भएका छन् । कैलालीको चुरे गाउँपालिका क्षेत्रबाट अधिकांश खसीबोका ल्याइएका छन् । कैलाली जिल्लाका पहाडी गाउँपालिका बाख्रा पालनका लागि उर्वर मानिन्छन् । व्यापारी थापाले मात्रै एक सय बढी खसीबोकाहरू ल्याएको जानकारी दिए ।

उपभोक्ताहरू उच्च पहाडको भन्दा चुरे क्षेत्रका खसीबोका बढी मन पराउँछन् । थापाले चुरेमा हुर्केका खसीबोकाहरूको मासु पनि राम्रो हुने बताए । उनले भारतबाट आयात घट्दा बाख्रा पालक किसानले समेत राम्रो मूल्य पाएको जानकारी दिए । तर व्यापारीलाई भने भारतबाट आयात हुने खसीबोकामा बढी फाइदा हुने गरेको छ ।

उनका अनुसार भारतबाट आयात भएका खसीबोकाको तौल घट्दैन । ‘पहाडबाट ल्याएका खसीबोकाको तौल यहाँ पुग्दासम्म ४ किलोसम्म घट्ने गर्छ,’ उनले भने, ‘तर पनि उपभोक्ताको रुची अनुसार पहाडी खसीबोकाहरू बढी आएका छन् ।’

यस पटक दसैं लक्षित खसीबोकाहरू भारतबाट २० प्रतिशतभन्दा बढी भित्रिएका छैनन् । भारतबाट आयात भएका खसीबोका उपभोक्ताले खोजेको साइजमा पाउने भएकाले बिक्री गर्न भने सजिलो हुने व्यापारी थापाले बताए ।

कैलाली धनगढीको त्रिनगर भन्सार नाकामा रहेको पशुपंक्षी चेक पोष्टका श्यामप्रसाद पाठकका अनुसार पनि गत वर्षको तुलनामा यो वर्ष भारतबाट खसीबोकाको आयात घटेको छ । ‘गत वर्ष फूलपातीअघि एक सय बढी खस बोका भित्रिसकेका थिए,’ उनले भने, ‘यस पटक अहिलेसम्म यो नाकाबाट आयात नै भएको छैन ।’

उपभोक्ता गोविन्द साहुले दसंैंका लागि बजारमा आएका खसीबोकाहरूको स्वास्थ्य जाँच गरिनुपर्ने बताए । ‘व्यापारीहरूले रोगी खसीबोकाहरू पनि बेच्ने गरेका छन्,’ उनले भने, ‘सरोकारवाला निकायले नगर भित्रिने बेला चेकजाँच गर्नुपर्‍यो ।’

रोगी खसीबोकाहरूको मासुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले बताए । उनले चाडबाडमा जिउँदो वा मरेको मासुजन्य बस्तु खरिद गर्दा सरसफाइ लगायत अन्य पक्षमा उपभोक्ताले ख्याल पुगाउनुपर्ने बताए ।

www.kantipurdaily.com ')}

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments