बाँके डेङ्गु रोगको उच्च जोखिममा

राँझा : बाँके जिल्ला डेङ्गु रोगको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

भारतसँग सीमा जोडिएको नेपालगञ्जमा पछिल्लो समय डेङ्गुका रोगी भेटिने क्रम बढ्दै गएको पाइएको छ ।

बाँकेमा अहिलेसम्म ११ जनामा सो रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये पाँच जना नेपालगञ्ज उपमहानगरपालिका, चार जना कोहलपुर र एक जना बैंजनाथ गाउँपालिकाका रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले पछिल्लो १८ वर्षदेखि नेपालमा डेङ्गु रोगको जोखिममा रहेको बताउनुभयो ।

यसको नियन्त्रण र रोकथाम भनेकै व्यवस्थित सहरीकरण र लामखुट्टे नष्ट गर्ने कार्य भएको उल्लेख गर्दै उहाँले डेङ्गु रोगको आशङ्कामा अनावश्यक घरेलु उपचारमा नलाग्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

भेरी अस्पताल नेपालगञ्जले बिरामीको चाप बढेपछि कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गुलगायतका बिरामी राखेको छ । कोभिडको भन्दा डेङ्गुलगायतका बिरामी बढेपछि उक्त वार्डमा बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरी अस्पतालमा बिरामी बढेर राख्ने ठाउँ छैन । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन् । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा पाण्डेका अनुसार डेङ्गुका ९० प्रतिशत बिरामीमा लक्षण देखिँदैन । लक्षण देखिए पनि ९९ प्रतिशत गम्भीर हुँदैनन् । एक प्रतिशत बिरामी गम्भीर हुन्छन् । त्यही एक प्रतिशतमध्येको ५० प्रतिशत उपचार नपाउँदा मृत्यु हुन्छ ।

अस्पतालमा डेङ्गुलगायतका बिरामी बढेपछि सिफारिस गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जन बढी फर्किरहेका छन् । पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा डेङ्गु रोगबाट दुई जनाको मृत्यु भइसकेको छ ।

डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियानलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग स्रोत व्यक्ति दुर्गा गौतमले बताउनुभयो ।

डेङ्गुका बिरामी बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रण अभियान तीव्र पारेको उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले बताउनुभयो ।

डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका विषयमा तत्काल कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments