सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै,वार्षिक दुई करोडको लप्सी बाहिरिने

सिन्धुपाल्चोक: पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् । जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेको छ ।

यी उद्योगले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला पाउँजस्ता वस्तु उत्पादन गर्दै आइरहेको सिन्धु विकास केन्द्र (सिडेक)का अध्यक्ष राजकुमार भण्डारी बताउछन् ।

जिल्लाको २७० हेक्टर जमिनमा दुई हजार एक सय मेट्रिकटन लप्सी साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको छ । उत्पादित लप्सीमध्ये छ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका अनुसार जिल्लाबाट प्रत्येक वर्ष रु दुई करोड ५२ लाखको लप्सी बाहिरिने गरेको छ ।

जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिँदै आएको सिडेकले जनाएको छ । विसं २०६५ देखि ईर्खुमा सिन्धु लप्सी उद्योग सञ्चालन गरिरहेका जीतबहादुर गिरीले वार्षिक रु तीन लाखको कारोबार गर्दै आएको बताएका छन् । थोरै लगानीमा पनि सञ्चालन गर्न सकिने यो व्यवसायमा लागेपछि आर्थिक अवस्थामा सुधार आएको र यो व्यवसायबाट सन्तुष्टि मिलेको उनको भनाइ छ ।

ठूलो सिरुवारीको सिन्धु लप्सी तथा अदुवा प्रशोधन केन्द्रले वार्षिक आँठदेखि रु १० लाख बराबरको लप्सीजन्य परिकार उत्पादन गर्दै आइरहेको केन्द्रका सहयोगी देवीप्रसाद दुलाल बताउछन् ।

उनका अनुसार यसको बजार राम्रो भएकाले अब वृहतरुपमा लैजाने केन्द्रको कार्यक्रम छ । लप्सीजन्य वस्तु उत्पादनले रोजगारीको अवसर जुट्नुका साथै आम्दानीको गतिलो माध्ययम भएपछि मेलचौर, साँगाचोक, ज्यामिरे र शिखरपुरमा ब्यवसायीकरुपमै यसको खेती गरिएको लघु उद्यमीसङ्घका उपाध्यक्ष दोकदोक तामाङ जानकारी दिन्छन् । यसबाट हाल तीन सय ३० जनाले रोजगारीको अवसर पाइरहेको र समयानुकूल व्यवसायलाई विस्तार गरी दुई हजार जनालाई रोजगारीको अवसर दिलाउने कार्यक्रम रहेको उनी उल्लेख गर्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments