व्यावसायिक बाख्रापालनमा महिला ,सहकारीले व्यवसायी बनायो

देउखुरी : घोराही उपमहानगरपालिका–६ अघराकी रामकुमारी थापाको बाख्रा खोरमा अहिले ४५ वटा बाख्रा छन् । २० वटा माउ, तीन वटा बोका, १० वटा खसी र १२ वटा साना पाठापाठी छन् ।

घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गरेकी रामकुमारी अहिले व्यावसायिक बाख्रापालनमा लाग्नुभएको छ । उनले रु पाँच लाख लगानी गरेर चार कोठासहितको ठूलो खोर निर्माण गरेर बाख्रापालन गरेकाछन् । एउटा खसीलाई रु. २० देखि २५ हजारमा बिक्री गर्ने गरेको उनले बताए ।

भर्खरै सकिएको दसैंमा रु दुई लाखको खसीबोका बिक्री गरेको उनी बताउँछन् । उनले घोराही–६ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट रु। दुई लाख पचास हजार ऋण लिएर व्यवसाय सुरु गरेका हुन् । “सहकारीले ऋण दिएकाले व्यवसाय गर्न सजिलो भएको हो”, उनले भने, “वैदेशिक रोजगारीमा गएका श्रीमान् पनि अहिले घर फर्केर काममा सघाउदा सहयोग भएको छ, अब यतै काम गर्ने सोचाइमा छौँ ।”

घोराही– ६ चैनपुरकी शोभा वलीले विसं २०७५ देखि बाख्रा पाल्न सुरु गरेका हुन् । अहिले उनीसँग १२ खसी, १५ माउ र साना पाठापाठी २१ गरी जम्मा ४८ बाख्रा छन् । गत वर्षको दसैंमा उनले रु दुई लाख २० हजारको खसी बिक्री गरेको र यस वर्ष पनि दसैंमा पाँच खसी बिक्री गरेर रु. एक लाख ६० हजार आम्दानी गरेको बताए ।

बिक्री गर्न तयारी अवस्थामा रहेका अझै पाँच वटा खसी रहेको र आउँदै गरेको तिहारमा सबै बिक्री हुने उनी बताउँछन् । उनको चार जनाको परिवार छ । वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान् वैशाखमा घर फर्किएपछि दुवै जना मिलेर व्यवसायलाई अगाडि बढाउने योजना रहेको उनले सुनाए ।

“सबैले मिलेर घरको काम गर्ने गरेका छौँ”, उनले भने, “घरको छेउमा किमु र मकैचरी घाँस रोपेका छौँ, बाख्रालाई खुवाउन सजिलो भएको छ ।” बाख्रापालनमा खासै लगानी गर्नुनपरेको तर, आम्दानी भने सन्तोषजनक रहेको साथै सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको उनको भनाइ छ । घोराही–६ की गीता घर्तीले पनि व्यावसायिक बाख्रापालनमा लागेकाछन् ।

दसैं तिहारको मौकामा बाख्रा बढी बिक्री हुने गरेको उनी बताउँछन् । यस वर्षको दसैँमा रु एक लाख १० हजारको खसी बिक्री गरेको बताए । उनीसँग अहिले पनि ४५ बाख्रा छन् । वर्षमा रु. चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् । “पहिलेकोभन्दा अहिले त मान्छेले हेर्ने दृष्टिकोण नै फेरिएको छ, पहिले बाख्रा थोरै थिए, पालेर घरखर्च मात्र ठिक्क हुन्थ्यो”, उाले भने, “अहिले कमाइ राम्रो भएको छ, घरछेउको दुईकट्ठा खेत जोडेको छु ।”

चार वर्षअघि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट रु. दुई लाख ऋण लिएर सुरु गरेको बाख्रापालन व्यवसायले प्रशस्त आम्दानी दिएको उनी बताउँछन् । उनले भने, “अझै बढाउने योजना छ, सहकारीबाट ऋण पाएपछि हौसला बढेको हो ।”

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष शरदकुमार आचार्यले घोराही– ६ कार्यक्षेत्र निर्धारण गरेर १७ वर्ष अगाडि स्थापना भएको सहकारीले ग्रामीण क्षेत्रका सदस्यलाई सहयोग पुगेको बताए । शेयर सदस्यलाई कर्जा लिन सजिलो हुने गरी काम गरेको उनको भनाइ छ । व्यवसाय र कृषि पेसा गर्न चाहने सदस्यलाई ऋण प्रवाह गर्ने गरेको उनी बताउँछन् ।

अहिले सहकारीमा एक हजार तीन सय ६७ जना सदस्य छन् । जसमा सात सय २६ जना महिला, छ सय ३७ जना पुरुष र ८० सङ्घ सस्था सदस्य रहेका छन् । सबै सदस्यलाई ऋण लगानी गर्दा माग गरे अनुसार पु¥याउन सकिएको बताए । सहकारीबाट कर्जा लिएर सदस्यले जीवनस्तर परिवर्तन गरेको देख्दा खुसी लाग्ने गरेको उनी बताउाछन् । कृषिका लागि ऋण लिन चाहने सदस्यलाई १४ प्रतिशतमा ऋण दिने गरेको कोषाध्यक्ष आचार्यले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments