तिहारका लागि किसानले गरे फूल र मालाको मूल्य निर्धारण

चितवन :जिल्लामा रहेर फूल खेती गर्ने किसानले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिकरुपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरुपता ल्याउनका लागि फूल र मालाको मूल्य निर्धारण गरेका हुन् ।

कृषकले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी तिहारको तीन दिनका लागि सयपत्री फूलको माया प्रतिगोटा खुद्रा मूल्य ९० देखि १०० र होलसेल मूल्य ६० देखि ७० रूपैयाँ कायम गरिएको जानकारी दिएका छन् । तिहारपछिका लागि खुद्रा मूल्य ७० र होलसेल मूल्य ५० रूपैयाँ राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सयपत्री फूल प्रतिकिलो ३ सय ५० देखि ४ सय रूपैयाँ कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ ।

भारतबाट आयात हुने मालाले नेपाली मालाको बजार विस्थापित गर्न खोजेको भन्दै किसनाले मालाको मूल्य निर्धारण गरेका हुन् । फ्लोरिकल्चर एशोसिएशन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले नेपाली मालाको मूल्य बढी हुँदा भारतीय मालाको आयात बढ्ने भएकाले मूल्य निर्धारण गर्न बाध्य भएको बताउनुभयो । जिल्लालाई यही उत्पादित मालाले पुग्ने भन्दै उहाँले भारतीय मालाको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरे।

जिल्लामा अहिले ४० देखि ५० बिघा क्षेत्रफलमा फूल खेती गरिएको सो अवसरमा जानकारी दिइएको थियो । फूलमाला फर्मका सञ्चालक गोविन्द बास्तोलाले तिहार लक्षित गरेर भारतीय माला नेपालमा आइसकेको जानकारी दिनुभयो । चितवनमा मात्रै एक ट्रक माला आएको र ठूलो मात्रामा माला आउन लागेको उनले बताए।

उनले भने, “भारतीय माला नेपालका विभिन्न चिस्यान केन्द्रमा राखिएको छ । अब केही दिनमा बजारमा ल्याउने तयारी गरिँदै छ ।” यसको विरोधमा कृषकले तिहार सुरु भएलगत्तै स्थानीय प्रशासनको सहयोगमा त्यस्ता माला नष्ट गर्ने उनको दाबी थियो ।

भारतीय मालामा केमिकलको प्रयोग गरिएको हुने हुँदा बजारमा ल्याएको केही समयमानै कालो हुन थाल्ने उनको भनाइ थियो । मालामा सुतरीको प्रयोग गरिने र छिटो बिग्रने हुँदा मानिसको स्वास्थ्य र कपडामा समेत असर गर्ने उनले बताए। बास्तोलाले अहिले कालिका नगरपालिका-२ मा २ बिघा क्षेत्रफलमा फूल खेती गरिरहेका छन् । पेसाले प्राध्यापक भए पनि उनले फूलमाला फार्म मार्फत पुष्पव्यवसाय गर्दै आएका छन् ।

असोजदेखि मंसिरसम्म यो व्यवसाय हुने उनको भनाइ थियो । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको उनले जानकारी दिए।

रत्ननगर कृषि शाखाका प्रमुख प्रवीण लामाले अहिले एक बिघा १० कट्ठामा पुष्प व्यवसाय गर्दै आएका छन् । तीन जना मिलेर सुरु गरेको व्यवसाय राम्रो भए पनि बजारमा मूल्य निर्धारण भएसँगै कृषकको मनोबल बढ्ने उनले बताए।

तिहारका लागि जिल्लामा पाँच लाख मालाको माग भएको भन्दै उहाँले जिल्लाले यो माग धान्न सक्ने बताए । अहिले व्यावसायिक रुपमा पुष्पखेती गर्ने कृषकले जिल्लामा तीन देखि चार लाख माला उत्पादन गर्ने उनले जानकारी दिए। जसमध्ये ५० हजारदेखि १ लाख माला मखमली फूलको उत्पादन हुने छन् ।

जिल्लामा उत्पादित मालाबाट कृषकले ४ करोड रूपैयाँको कारोबार हुने अपेक्षा राखेका छन् । गत वर्ष जिल्लाको उत्पादनले यहाँको बजारको ६० प्रतिशत पुगेकोमा अहिले ८० प्रतिशत पुग्ने उनीहरूको अनुमान रहेको छ । २० प्रतिशत माला गाउँघरमा आफैं बनाउने गरेकाले यहाँको बजारलाई माला प्रर्याप्त हुने कृषकले बताएका छन् ।

नेपालमा स्वरोजगार बन्नका लागि यो व्यवसाय उत्तम व्यवसाय भएको अर्का कृषक सुन्दर बस्नेतले बताए। उनका अनुसार पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउनका लागि कृषकले मालाको मूल्य तय गरेका हुन् । अहिले यो व्यवसायबाट दुई सयले रोजगार पाइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तिहारको समयमा ८० प्रतिशत लागत मूल्य उठ्ने कृषकको भनाइ छ ।

विचौलियका कारण माला बिक्री नहुने चिन्ता बढेको भरतपुर महानगरपालिका–९ की लक्ष्मी सापकोटाले बताए । उनले भने, “यस वर्ष मौसमका कारण उत्पादन राम्रो छ तर भारतीय मालाका कारण समस्या आउने चिन्ता बढी रहेको छ ।” हामीले दुःख गरेका छौँ तर भारतीय माला बजारमा आउन सुरु भइसक्यो उनको गुनासो थियो । कृषकले तिहारलाई लक्षित गरेर आजदेखिनै माला तयार गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments