फूल खेती गर्ने किसानलाई माला गाँस्न भ्याइनभ्याइ

घोराही : जिल्लामा फूल खेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूल खेती गर्नुभएका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थाल्नुभएको छ ।

घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूल खेती गर्नुभएका इन्द्रा बुढामगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गर्नुभएको छ । उहाँहरू जस्तै जिल्लामा अहिले फूल खेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उहाँहरूको भनाइ छ ।

माला बनाएर कोल्ड स्टोरमा राखिने उहाँहरूले बताउनुभयो । जिल्लामा मात्र नभई जिल्ला बाहिरबाट समेत फूलको माग आउने गरेको घोराही उपमहानगरपालिका–१४, झिगौरामा जलजला पुष्प खेती फार्मका सञ्चालक लोकेन्द्रले बताउनुभयो । बाहिर माग भए पनि पहिलो प्राथमिकता जिल्लामा नै दिने गरिएको उहाँ बताउनुहुन्छ ।

उहाँले डेढ बिघा जग्गा भाडामा लिएर फूल खेती गरेको बताउनुभयो । उहाँले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गर्नुभएको छ । उहाँले विगतका वर्षदेखि फूल खेती गर्दै आउनुभएको छ । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका लोकेन्द्रले जिल्लामा दसैँ तिहार लगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूल खेती गर्न थाल्नुभएको हो ।

“दाङमा व्यावसायिक रूपमा फूल खेती कतै थिएन, काठमाडौँतिर फूल खेती पनि व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले गरेको हुँ”, रोकाले भन्नुभयो । रोकाले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक खेती गर्दै आउनुभएको छ । घोराही बजार नजिकै फूल खेती गरेपछि आफूलाई बजारको कुनै समस्या नभएको रोका बताउनुहुन्छ ।

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन सुरु गरेको बताउनुभयो । वर्षाको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको उहाँको भनाइ छ । अहिले उहाँले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्री समेत गर्दै आउनुभएको छ । आफूसँगै परिवार तथा अन्य दुई जनालाई समेत रोजगारी प्रदान गरेको उहाँको भनाइ छ । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उहाँको भनाइ छ ।

जिल्ला फूल खेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्न समेत उहाँको आग्रह छ । पछिल्लो समय सरकारी निकायबाट समेत सहयोग प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments