पहाडका बसाइँ सरे, तराईकाले पहाड झरेर खेती गरे

रेसुङ्गा :पछिल्लो समय पहाडबाट बसाइँसराइ गरेर तराई झर्नेको सङ्ख्या निरन्तर बढिरहेको छ । खासगरी श्रीमान्ले विदेशमा कमाउने र विस्तारै परिवार विलासी जीवन बिताउनका लागि तराई झर्ने क्रमले ग्रामीण भेग सुनसान बन्दै गइरहेका छन् ।

तीव्र गतिमा भइरहेको बसाइँसराइले गर्दा ग्रामीण भेगका खेतबारी बाँझो जमिनका रूपमा परिणत हुँदै गएका छन् । कृषिमा नोक्सान देखेर पहाडमा खेतबारी बाँझो राखेर तराई झर्नेह बढिरहँदा तराईका एक घरपरिवार भने पहाडी जिल्ला गुल्मीमा आएर कृषि गरी उदाहरण प्रस्तुत गरेका छन् ।

कपिलवस्तुको सुद्धोधन गाउँपालिका–५ का मोहित कुमाल उमेरले ४० वर्ष पुग्नुभयो । उहाँ श्रीमतीसँगै गुल्मीको इस्मा गाउँपालिका–६ धनार्जीमा खेतीपाती गर्दै आउनुभएको छ । “पहाडका बसाइसराइँ गरेर तराईमा झरिरहँदा खाली खेतबारीमा हामीले कृषि गर्ने सोचेर यहाँ आएका हौँ”, मोहितले भन्नुभयो, “तराईमा भन्दा हामीलाई यहाँ नाफा छ, थोरै लगानीमा धेरै आम्दानी भइरहेको छ ।” उहाँले कम लगानीबाट बढी फाइदा भएकाले आफू निकै सन्तुष्ट रहेकोसमेत बताउनुभयो ।

मोहितले मौसम अनुसारका विभिन्न खेती गर्दै आउनुभएको छ । अहिलेको मौसमअनुसार यतिबेला धान भित्र्याउने समय हो । मोहितलाई अहिले धान भित्र्याउन भ्याइनभ्याइ छ । उहाँले धनार्जी फाँटको १९ रोपनी जग्गामा गरेको खेतीबाट २५ मुरी धान उत्पादन गर्नुभएको छ । एक मौसमको खेतीबाट मात्र मोहितले एक लाख कमाउने बताउनुभयो ।

उहाँका अनुसार धान मुरीको चार हजार रुपैयाँका दरले विक्री हुने गर्दछ । यस मौसम बाहेक अन्य समयमा मोहितले गहुँ र तरकारीहरू रोप्ने गर्नुहुन्छ । उहाँले स्थानीय ठाकुर भुसालको खेतमा कृषि गरिरहनुभएको छ । उहाँले बाह्रै महिना खेतबारी खाली नराखेर खेती गरी मनग्य आम्दानी गरिरहनुभएको छ ।

तराईबाट झरेर पहाडमा कृषि गर्नुभएका मोहितले १८ जनालाई मौसमी रोजगार समेत दिनुभएको छ । धान खेतीको लागि रोप्दा, गोड्दा, काट्दा र ठट्याउँदा गरी औसतमा वार्षिक नौ जनाले रोजगार समेत पाएको उहाँले बताउनुभयो । त्यस्तै धान खेतीबाहेकको अन्य खेतीमा पनि औसतमा नौ जनाले गरी कूल १८ जनाले रोजगार पाएका छन् । “मैले र परिवारले मात्र काम नसकेर यहाँका स्थानीयलाई रोजगार पाएका छन्”, उहाँले भन्नुभयो । अठार वर्षसम्म बुटवलको एक पसलमा काम गर्नुभएका मोहितले काम गरुन्जेल मात्र जीविकोपार्जन भएको बताउनुहुन्छ । “मैले लामो समय पसलमा काम गरें, कमाएको पैसा कमाउञ्जेल मात्र भयो”, मोहितले भन्नुभयो, “पहाडमा झरेर कृषि गरेपछि केही बचत पनि गरेको छु ।” उहाँले पहाडमा जग्गाजमिन बाँझोर राख्नुको सट्टा केही न केही कृषि उद्यम गरेका चौतफी फाइदा पुग्ने बताउनुभयो ।

मोहित कुमाल मंसिरदेखि वैशाखसम्मको छ महिना इट्टा बनाउन ब्यस्त हुने गर्नुहुन्छ । यो समय इट्टा पोल्न मिल्ने समय हो । बाँकी छ महिना इट्टा विक्री गर्ने समय हो । कुमालको पहलमा स्थानीयवासी ठाकुर भुसालको धनार्जी इँटा उद्योग पनि सोही स्थान धनार्जीमा रहेको छ । यहाँबाट एक नम्बरी इँटा प्रतिवटा १८ र २ नम्बरी इँटा प्रतिगोटा १७ रुपैयाँका दरले बिक्री हुन्छ । मोहितका अनुसार यो समयमा डेढ लाख इँटा बिक्री भए । कूल २६ लाख २५ हजार बराबरका इँटा बिक्री भएको इँटा उद्योगका रेखदेख गर्नुभएका मोहितले जानकारी दिनुभयो ।

केही मात्रामा इँटा बिके पनि खासगरी उत्पादन अनुसार इट्टा विक्री नभएको मोहितले गुनासो गर्नुभयो । इट्टा उद्योगमा अहिले तीन लाख इँटा बिक्री नभएका छन् । यसको मूल्य ५२ लाख ५० हजार बराबर हुन्छ । “हामीसँग धेरै मात्रामा इँटा बिक्री नभएर यत्तिकै रहेका छन्”, मोेहितले भन्नुभयो, “यहाँ इँटा उत्पादन हुन्छ, तर कमिशनका लागि तराईबाट इँटा आइरहेका छन् ।”

सरकारी निकायलाई कमिसनको लोभ र निजीहरुलाई गुणस्तरहीन हुन्छ कि भन्ने डरले इँटा बिक्री नभएको कुुमालले बताउनुभयो । तराईबाट ल्याएरभन्दा यहीको माटोबाट बनेको इँटा प्रयोग गरेमा ग्रामीण भेगको उद्योगलाई पनि टेवा पुग्ने उहाँको अपेक्षा छ । धनार्जी इँटाको प्रयोग गर्न मोहितले आग्रह गर्नुभयो । “निजीभन्दा पनि सरकारी कार्यालयले पहिले ग्रामीण भेगको इँटाको प्रयोग गरेमा निजीलाई विश्वास पुग्ने छ”, उहाँले भन्नुभयो । सहरको इँटाभन्दा गुणस्तरको तुलनामा केही कम नभएको उहाँको भनाइ छ ।

तराईबाट पहाड झरेर खेती गर्नुभएका मोहितले सबै नेपालीले कृषिमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । अन्य जागिरबाट आफ्नो जीविकोपार्जन काम गर्नसम्म मात्र हुने भएकाले कृषिले बचत पनि हुने उहाँको भनाइ छ । विलासी जीवन जीउनुको सट्टा नेपाली माटोमा केही न केही गर्न उहाँले सुझाउनुभएको छ । सङ्घीयतापछि गाउँगाउँमा आएको विकासका कारण पनि ग्रामीण भेगको बसाइँसराइ रोकिएको छैन । उनीहरुले नीति तथा कार्यक्रममा पनि बसाइँसराइ रोक्ने कुनै ठोस कार्यक्रम ल्याउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments