तिहारमा साढे १३ करोडको पुष्प माला कारोबार

काठमाडौँ  :फूल फूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको पुष्प माला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।
“यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो”, तामाङले भन्नुभयो, “थोक मूल्यका आधारमा रु साढे १३ करोड बराबरको फूल र मालाको कारोबार हुने अनुमान छ ।” यद्यपि, खपत र कारोबार रकमबारे वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने उहाँको भनाइ छ ।

फ्यानका अनुसार यस वर्षको तिहारका लागि साढे २४ लाख मालाको माग छ । सबैभन्दा बढी सयपत्री मालाको माग छ । यस वर्ष बिक्री हुने अनुमान गरिएका २० लाख सयपत्रीका मालामध्ये १७ लाख माला नेपालभित्रकै उत्पादन रहेको र तीन लाख माला भारतबाट आयात गरिएको छ । त्यस्तै, यस वर्ष तीन लाख २५ हजार हाराहारी मखमली मालाको किनबेच हुने अनुमान गरिएको छ । बीसदेखि २५ हजारको सङ्ख्यामा गोदावरी फूलको माला बिक्री हुनेछ ।
नेपालबाट मखमली माला निर्यात भएको छ । तिहारको समयमा मात्रै करिब एक लाखको सङ्ख्यामा मखमली माला निर्यात हुने गरेको फ्यान अध्यक्ष तामाङले बताउनुभयो । “मखमली फूल विश्वका विभिन्न देशमा जान्छ । भारत र विभिन्न देशमा रहेर तिहार मान्ने नेपालीले मखमली मालाको माग गर्ने गरेका छन् । एक लाखको सङ्ख्यामा मखमली माला हामीले निर्यात गरेका छौँ”, उहाँले भन्नुभयो ।
यस वर्ष सयपत्री फूलको प्रतिमाला थोक मूल्य रु ५५ रहेको छ । त्यस्तै, मखमली फूलको मालाका रु ४० मा कारोबार भइरहेको छ । यद्यपि खुद्रा मूल्य भने फरक छ । पसलैपिच्छे फरक–फरक मूल्यमा बिक्री भइरहेका छन् । फूल र मालाको कारोबार यस वर्ष पनि गत वर्षकै मूल्यमा भइरहेको फ्यानले जनाएको छ ।
तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपालभित्रकै उत्पादनले धान्न सक्ने अवस्था रहे पनि व्यवसायीले बढी नाफा कमाउनका लागि भारतबाट आयात गर्ने गरेका छन् ।
“हामीलाई चाहिने जति माला नेपालभित्रै उत्पादन हुन्छ । यस वर्षको उत्पादन पनि बढी नै हो”, तामाङले भन्नुभयो, “नेपालको उत्पादन पर्याप्त भए पनि भारतीय मालामा बढी नाफा हुन्छ । त्यस कारण व्यापारीले भारतबाट ल्याउने गरेका छन् ।” यस वर्ष बजारको मागभन्दा बढी आयात भएको देखिन्छ । अर्कोतर्फ आयातित माला मूल्यमा पनि सस्तो हुने भएका कारण नेपाली उत्पादनले बजार नपाउने तर भारतबाट ल्याइएका फूलमाला तिहारमा प्रयोग हुने देखिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments