कृषिको व्यवसायीकरणमा सबैको सहकार्य आवश्यक

बेलहिया(रुपन्देही): निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन सबैको सहयोग र सहकार्य जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । लुम्बिनी प्रेस क्लबको संयोजन र सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा आज भएको कार्यक्रममा बोल्ने वक्ताले कृषिको व्यावसायिकतामा जोड दिएका हुन् । वक्ताहरूले कृषि क्षेत्रमा राज्यले धेरै रकम लगानी गरेको भए तापनि उक्त बजेट खास किसानसमक्ष नपुगेकोसमेत बताए । कार्यक्रममा बोल्दै जलदेवी मत्स्य विकास सहकारीका अध्यक्ष गणेश शाहीले सहकारीले किसानलाई एकताबद्ध गर्दै व्यवसायी बनाउन र बजारीकरणमा सहज बनाउने गरेको बताउनुभयो । अध्यक्ष शाहीले भन्नुभयो, “सरकारी कार्यक्रम ठीकै त छन् तर जत्ति हुनुपर्ने हो त्यत्ति हुनसकेका छैनन् ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रूपन्देहीका प्राविधिक अनुराग आचार्यले माछामा आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै माछा व्यवसायमा किसान लागेको र भारतबाट आयातित माछा खान नपरेको बताउनुभयो । उहाँले सरकारी लगानी सकेसम्म राम्रो होस् भन्नेमा आफ्नो कार्यालय लागिरहेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र रूपन्देहीका सूचना अधिकारी अनिल बानियाँले कृषकलाई यस वर्ष रु आठ करोड अनुदान सहयोग गर्ने बताउँदै बीउबिजन र तरकारी खेतीमा बढी केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अनुदान कागजी प्रक्रिया मिलाउनेले पाउने हुनाले जसको कागज मिल्छ उसैलाई अनुदान दिन्छौँ । कागज नमिले दिन मिल्दैन ।”

लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ का कृषि संयोजक अर्जुन कार्कीले कृषिलाई व्यवसायीकरण गर्दै अगाडि बढाउनका लागि मेलामा प्राथमिकता दिएको बताउनुभयो । उहाँले मेलामा मुस्ताङका उत्पादन र तराईका रैथाने उत्पादनलाई राखिएको बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष भीष्म न्यौपानेले कृषिलाई बजारीकरण गर्न सम्बन्धित निकायले अनुगमन गरी व्यवसाय प्रवद्र्धनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी राष्ट्रिय महोत्सव आगामी पुस ४ गतेसम्म चल्ने छ । मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम र स्थानीय कला र गलाको प्रवद्र्धन भइरहेको छ । महोत्सवमा कृषिसम्बन्धी स्टललाई प्राथमिकता दिएर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments