अदुवा भन्दा पिँडालु महँगो

दिपायल:दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ ।

कमै मात्रामा उत्पादन हुने र कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन , वीपी नगर र कैलालीको धनगढी र अत्तरियालगायतका बजारमा बिक्री भइरहेको छ ।

डोटीको बडीकेदार , जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान व्यवसायरुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् ।

पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार–२ का नरबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अदुवाभन्दा कम मिहिनेत लाग्ने पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको हाँै । ” उहाँले पिँडालु बिक्रीबाट वार्षिकरुपमा रु ३० देखि ४० हजारसम्म आम्दानी हुने गरेको पनि बताउनुभयो । आफुले पिँडालु खेती गरेपछि यस क्षेत्रका अधिकांश किसानले पिँडालु खेती गरिरहेका उहाँको भनाइ छ ।

कुनै समय प्रतिकेजीको रु ९० मा बेचिने अदुवा यतिबेला प्रतिकेजी रु २० का दारले बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । पिँडालु खेतीमा सम्लग्न बडीकेदार –५ का तेज कोटकेनीले भन्नुभयो, “अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु रु ३० का दरले बिक्री गरिरहेका छन् । पहिले कसैले पनि खरिद नर्गने पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधँैभरी किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।” स्थानीयस्तरमा बजारीकरण नभएका कारण किसान सस्तोमा कृषि उपज बेच्न बाध्य भएको उहाँको भनाइ छ ।

दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट राम्रौ आम्दानी भएको बडीकेदार–४ का घनबहादुर ताडीले बताउनुभयो । साठीदेखि ७० रोपनीमा लगाउन गरेको अदुवा खेती विचौलिया व्यापारीका कारण मिहिनेत गरे जति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उहाँको भनाइ छ । यस वर्ष रु १५ हजार बराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको किसान ताडीले बताउनुभयो । यस क्षेत्रमा बढी मात्रमा उत्पादन हुने अदुवाको मूल्यसँगै बजारमा नबिक्ने भएका कारण अदुवा खेती छोडेर कोही फलफूल खेती त कोही पिँडालु खेति गरिरहेको उहाँले बताउनुभयो ।

किसानको जीविकोपार्जन गर्दै आएको अदुवा खेती पछिल्लो समय बजार र कम मूल्य भएका कारण अधिकांश किसान पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताउनुभयो । यस क्षेत्रमा पिँडालु राम्रो उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिने , बजारीकारण र चिस्यान केन्द्रका लागि पहल गरिने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments