सुत्केरी गाईभैँसीलाई पोषिलो झोल !

त्रिवेणी:नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले सुत्केरी गाईभैँसीलाई पोषिलो झोल ( आहार) प्रदान गरेको छ ।

गाउँपालिका–१ र २ गाईभैँसी पालन गरेका एक सय एकजना किसानलाई पोषिलो झोल प्रदान गरिएको छ । यसमा सुत्केरी भएका गाईभैँसीलाई आवश्यक पर्ने क्याल्सियम, मिनरल, आइरन झोल, सुत्केरी भएको समयमा पाचन शक्ति कमजोर हुने हुँदा भोक जाग्ने र पाचन शक्ति बढाउने रुटामेक्स र जन्मेको बच्चालाई बचाउन जुकाको औषधी प्रदान गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख रामदेव महासेठले जानकारी दिनुभयो ।

गाउँपालिकाले क्रमशः सबै वडामा गाईभैँसीको सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत सुत्केरी गाईभैँसीलाई स्याहारका लागि पशुपालक किसानलाई पोषिलो झोल प्रदान गर्ने उहाँले बताउनुभयो ।

पहिलो चरणमा चालू आर्थिक वर्षको कार्यक्रमबाट दुईवटा वडाका किसानलाई पोषिलो झोल वितरण कार्य सम्पन्न गरिएको छ । गाउँपालिकाका बाँकी रहेका पाँच वडामा समेत क्रमशः सङ्कलन गरिएको तथ्याङ्कअनुसार पोषिलो झोल वितरण गरिनेछ । पहिलो चरणमा पालिका भित्रका चार सय किसानलाई पोषिलो झोल वितरण गरिने उहाँको भनाइ छ ।

यो कार्यक्रम चालू आर्थिक वर्षभरि सञ्चालन हुनेछ । पहिलो चरणमा पालिकामा नाम टिपाएका किसानलाई वितरण गरेर कार्यक्रम सुरुआत गरिएको हो । अब पालिका भित्रका हरेक किसानले आफ्नो गाईभैँसी सुत्केरी भएकै दिन पोषिलो झोल प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवार क्षेत्रीका अनुसार पालिकाले यो कार्यक्रम निम्न आयस्रोत भएका किसानलाई लक्षित गरेर सञ्चालन गरेको हो । “निम्न वर्गीय किसानले गाईभैँसी सुत्केरी भएपछि उनीहरूका लागि आवश्यक पर्ने पौष्टिक तत्व खरीद गरेर खुवाउने क्षमता हुँदैन, यसले गाईभैँसीको स्वास्थ्यमा पनि असर पर्छ र दूध उत्पादन पनि कम हुन्छ, निम्नवर्गीय किसानले लाभ लिन सकून् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाभित्र पशुपालन गरेका किसानलाई पशुपालन व्यवसायमा थप प्रोत्साहनसमेत मिलोस् भनेर यस्तो खालको कार्यक्रम राखिएको उहाँले बताउनुभयो । गाईभैँसीको सुत्केरी स्याहार तथा पोषिलो झोल कार्यक्रमका लागि पालिकाले चालू आवमा रु १५ लाख विनियोजन गरेको उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments