उहिले निकुञ्ज विस्थापित, अहिले तरकारीबाट लखपति

महेन्द्रनगर: वि सं २०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा रामबहादुर चौधरीको परिवार त्यहाँबाट विस्थापित भएर यहाँको बेलौरी नगरपालिका–३ खिरिया ९पणाव० पुग्यो ।

शुक्लाफाँटा निकुञ्जको तत्कालीन पणाव गाउँका स्थानीयवासीलाई सरकारले विस्थापित गर्दै बेलौरी नगरपालिका–३ खिरिया क्षेत्रमा प्रतिपरिवार १० कट्ठा जमिन उपलब्ध गरायो । निकुञ्ज विस्तारअघि पाँच बिघा जमिन भएका चौधरी सरकारले पुनस्र्थापना गर्दा १० कट्ठामा समिति हुन पुग्नुभयो ।

दस कट्ठा जमिन पाए पनि कृषि र श्रम गर्न सधैँ अग्रसर रहने चौधरी अहिले सो क्षेत्रका व्यावसायिक सफल कृषकका रुपमा परिचित हुनुहुन्छ । २०६५ सालदेखि नगदेबालीका रुपमा तरकारी खेतीमा लाग्नुभएका रामबहादुर चौधरी अहिले वार्षिक रु आठ लाखभन्दा बढी तरकारीको कारोबार गरिरहेको बताउँनुहुन्छ । “निकुञ्ज विस्तारअघि पनि पुस्तौँदेखि कृषि पेसा नै गरेर बुबा÷बाजे जीविका चलाउँदै आएका थिए”, उहाँले भन्नुभयो, “अहिले एक बिघामा तरकारी फलाएर घर खर्चसँगै आम्दानीसमेत बाध्न सक्ने अवस्थामा पुगेको छु ।”

निकुञ्जको पणाव गाउँबाट बेलौरी नगरपालिका–३ सरेका तत्कालीन विस्थापितले यहाँ पनि गाउँको नाम पणाव नै राखेका छन् । अधिकांश चौधरी थारू रहेको यहाँ प्रायः हरेक घरमा व्यवसायी तरकारी खेती गर्छन् । “तरकारी बेचेरै १३ कट्ठा जमिन जोडे”, रामबहादुरले भन्नुभयो, “यो मौसममा पनि अहिलेसम्म करिब आठ क्विन्टल काउली बिक्री गरिसकेको छु ।”

मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका चौधरीले तरकारी बजारको समस्या नरहेको बताउनुभयो ।
“धनगढी, महेन्द्रनगरदेखि स्थानीयमा पुनर्वास र बेलौरी बजारसम्म तरकारी खपत हुन्छ”, उहाँले भन्नुभयो, “यो व्यवसायबाट सन्तुष्ट छु, मेरो विदेश भनेको यही हो ।”

तरकारीको आम्दानीबाटै छोरीलाई धनगढीमा स्नातक अध्ययन गराइरहनुभएका चौधरीले अहिले वार्षिक रु आठ लाखको कारोबार भइरहँदा रु पाँच लाख मुनाफा हुने गरेको जानकारी दिनुभयो ।

तरकारी खेतीका लागि कृषि ज्ञान केन्द्र, नगरपालिका र दातृ निकाय नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए० अनुदान, कृषि सामाग्री तथा प्राविधिक सहयोगसमेत पाउँदै आएको उहाँको भनाइ छ ।

विगतको भन्दा तरकारी उत्पादनमा ह्रास आउन थालेपछि एनएनएसडब्लुएको सहयोगमा केही सातायता गड्यौला तथा मल उत्पादनमा समेत उहाँ लाग्नुभएको छ । “धनगढीबाट १० किलोग्राम गड्यौला ल्याएर मल उत्पादन थालनी गरेका छौँ”, उहाँले भन्नुभयो, “उत्थान परियोजनाले यो काममा सहयोग पु¥याएको छ ।”

उहाँले गड्यौला मलले उत्पादनमा वृद्धि हुनाका साथै रासायनिक मल विस्थापनमा सहयोग पुग्ने विश्वास रहेको बताउनुभयो । “रासायनिक मलको प्रयोगले काउलीको तौलमै कमी आएको देखियो”, उहाँले भन्नुभयो, “अब गड्यौला तथा मल उत्पादनमा पनि जोड दिन्छौँ ।”

बेलौरी नगरपालिकाको तरकारी पकेट क्षेत्र मानिएको पणाव क्षेत्रमा कृषि सहकारीमार्फत शुक्लाफाँटा विस्थापितहरु लामो समयदेखि व्यावसायिक रुपमा तरकारी खेतीमा सक्रिय छन् । यहाँ पछिल्लो समय सौर्य सिँचाइ जडान भएपछि गाउँमा तरकारी खेतीमा आकर्षण बढिरहेको स्थानीयवासीको भनाइ छ ।

त्यसैगरी स्थानीय नवराज डगौंराले पनि पाँच कट्ठा जमिनमा लगाएको तरकारीले घरको खर्च चलिरहेको बताउनुभयो । “रु ६० हजारको काउली बेचे फेरि काउली लगाउँदैछु”, उहाँले भन्नुभयो, “शुक्लाफाँटाबाट विस्थापित हुनुअघि पनि त्यहाँ तरकारी फलाएर बेच्न झलारीदेखि बेल्डाडीसम्म जान्थे ।”

पुनस्र्थापनाका बेला आएको १० कट्ठा जमिनमा पाँच भाइले जीविका चलाउन निकै गाह्रो रहेको उहाँको भनाइ छ । “अहिले पनि जमिन भाडामा लिएर पनि भाइहरु मिलेर तरकारी खेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अन्नबालीभन्दा तरकारीमा मुनाफा बढी हुँदोरहेछ ।”

उहाँले तरकारी खेतीमा आबद्ध कृषकहरु व्यवसायका लागि जनजागृति बहुउद्देश्यीय कृषि सहकारीबाट लगानीसमेत लिने गरेको बताउनुभयो । “सहकारीबाट शेयर सदस्यले थोरै ब्याजमा रकम लिएर पशुपालनदेखि तरकारी खेतीसम्म सक्रिय छन्”, डगौंराले भन्नुभयो, “तरकारीबाट आर्थिक अवस्थामा सुधार आएसँगै परनिर्भरता हट्दै गएको छ ।”

त्यसैगरी स्थानीय कृषक राजेश चौधरीले पनि बजारको समस्या नहँुँदा बस्तीमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढिरहेको बताउनुभयो । “अहिले थारू समुदायका ६०÷७० परिवार तरकारी खेतीमा छन्”, उहाँले भन्नुभयो, “यहाँ एक कट्ठदेखि दुई बिघा खेतमा तरकारी लगाएका छन् ।”

बस्तीमा रहेको आरक्ष पीडित निवारण कृषक समूह नै बनाएर विस्थापितहरु तरकारी खेतीमा लागेका छन् । २० जना आबद्ध रहेको उक्त समूहमा अधिकांश निकुञ्ज विस्थापित छन् । “गाउँमा सिँचाइको समेत व्यवस्था दातृ निकायबाट भएपछि तरकारीमा झन् आकर्षण बढ्यो”, चौधरीले भन्नुभयो, “अहिले गड्यौला मल उत्पादनमा पनि कृषक समूह अघि सरेको छ ।” विगतमा दक्षिणतर्फ रहेको भारतीय बजारहरुमा मजदुरी गर्न जाने स्थानीय अहिले व्यावसायिक रुपमा कृषिमा आबद्ध हुँदै गएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments