रामपुरमा अव्यवस्थित जग्गाधनीलाई पुर्जा वितरण सुरु

रामपुर:अव्यवस्थित रुपमा बसेका पाल्पाको रामपुरवासीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरिएको छ । लामो समयसम्म तत्कालीन गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेको जग्गामा बसोबास गर्दै आएका यहाँका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् ।

राष्ट्रिय भूमि आयोगले २०२८÷२९ देखि रसिदमा जग्गा किनेर भोगचलन गर्दै आएका अव्यवस्थित बसोबास गरेकालाई करिब पाँच दशकपछि जग्गाधनी पुर्जा उपलब्ध गराएको छ । लामो समयदेखि पुर्जाको प्रतीक्षामा रहेका अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले रामपुर नगरपालिकाको समन्वयमा शुक्रबारदेखि पुर्जा वितरण कार्य सुरु गरेको छ ।

पहिलो चरणमा तीन सय ७७ घरघडेरीको राजस्व तिर्ने प्रक्रियामा पुगे पनि तीन सय एकको सर्जमिन भएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष मोहनलाल गैरेले बताउनुभयो । उहाँले सर्जमिन भएकामध्ये दुई सय बढीले राजस्व बुझाएको, एक सय ७३ को फोटो टाँस्ने काम सकिएको छ भने एक सय तीन जग्गाधनीलाई पुर्जा वितरण गरिएको छ । उहाँका अनुसार प्रक्रिया पूरा भएका सबैको क्रमशः वितरण हुने र गठबन्धन सरकार यथावत् रहेमा अबको आठ महिनाभित्र अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण कार्य सम्पन्न गरिनेछ ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले जग्गाधनी पुर्जा वितरण गर्दै भूमिको समस्या समाधान आयोग र स्थानीय सरकार मिलेर मात्र सम्भव रहेको बताउनुभयो । आयोगले आफ्नो भूमिका नखोजी स्थानीय सरकारसँगै हातेमालो गरेर अघि बढेको उहाँले जानकारी गराउनुभयो ।

रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यका लागि र हालको रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि लगायतका विद्यालयले विद्यालय सञ्चालन गर्न तत्कालीन समयमा बिक्री गरेको जग्गामा बसोबास हुँदै आएको हो । विसं २०५५ सम्ममा बिक्री वितरण भएका रामपुर–५, ६ र ७ का सात सय ८३ घडेरीमध्ये पहिलो चरणमा एक सय तीन जनालाई पुर्जा वितरण गरिएको हो ।

लामो समयसम्म समस्याका रुपमा रहेको अव्यवस्थित घरघडेरीलाई जग्गाधनी पुर्जा दिलाउन सफल भएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो । प्रक्रियामा रहेका सबैलाई जग्गाधनी पुर्जा उपलब्ध गराइने नगरप्रमुख थापा बताउनुहुन्छ । वर्षौंदेखि पुर्जाविहीन बनेका स्थानीय पुर्जा वितरणसँगै खुसी भएका छन् ।

रामपुरको मुख्य बजार, बेझाँड बजार, किसानबारी, विजयपुर, तिलकपुर क्षेत्रमा गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेको जग्गा पाँच दशकदेखि स्थानीयले रसिदको भरमा भोगचलन गर्दै आइरहेका थिए । लामो समयको पर्खाइपश्चात् जग्गाधनी पुर्जा प्राप्त गर्न पाउँदा खुसी लागेको स्थानीय विन्दु श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments