ऋषिराम चौधरीका लागि आम्दानीको स्रोत बन्यो च्याउखेती

घोराही:घोराही उपमहानगरपालिका-१८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लैजानुभएको छ ।

सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गर्नुभएका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गर्नुभएको हो ।

छ प्याकेट च्याउको बिउबाट सुरु भएको व्यवसायमार्फत् अहिले वार्षिक रु १० देखि १२ लाखको च्याउ उत्पादन गर्दै आउनुभएको छ । तत्कालीन समयमा उहाँले दुई हजार पाँच सय सय मात्रै लगानी गर्नुभएको थियो ।

“विगत १७ वर्षदेखि म निरन्तररुपमा यही पेसामा छु”, उहाँले भन्नुभयो, यसबाट राम्रो आम्दानी भएको छ ।” करिब दश वर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउखेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताउनुभयो ।

उहाँले दैनिक करिब ४०÷५० केजी बराबरको च्याउ उत्पादन गर्दै आउनुभएको छ । उत्पादन भएको च्याउ जिल्लाभित्रै खपत हुने उहाँको भनाइ छ । यसअघि रोल्पा, प्यूठान, बुटवललगायतका ठाउँमा जाने गरेको भए पनि अहिले जिल्लामै खपत हुने गरेका छ । जिल्लामा सुगर, प्रेसरलगायतका बिरामीले खान मिल्ने र मासुको विकल्पमा पनि च्याउको प्रयोग बढेपछि जिल्लामा च्याउको माग बढ्दै गएको उहाँको भनाइ छ ।

च्याउखेतीका लागि दुई वटा टनेल निर्माण गर्नुभएका चौधरीले अग्र्यानिक च्याउ उत्पादन गर्ने गरेको बताउनुभयो । च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बिउ नपाउँदा व्यवसायी समस्यामा परेको उहाँले गुनासो गर्नुभयो ।

चौधरीले काठमाडौँको कालिमाटीबाट च्याउको बिउ ल्याउनुहुन्छ । उत्पादन भएको च्याउ बिक्री नभए सुकुटी बनाएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । च्याउलाई सुकुटी बनाएर बिक्री गर्नका लागि मेसिनसमेत ल्याउनुभएको छ । सुकुटी बनाएको च्याउ प्रतिकेजी रु दुई हजारसम्म बिक्री हुने गरेको चौधरीले बताउनुभयो ।

“च्याउ नबिक्ने समस्या छैन । तर कहिलेकाहीँ बिक्री भएन भने सुकुटी बनाउने गरेको छु”, चौधरीले भन्नुभयोे “च्याउ प्रतिकेजी रु एक ९० देखि दुई सयसम्म बिक्री हुने गरेको छ भने सुकुटी प्रतिकेजी दुई हजारसम्म बिक्री हुने गर्दछ ।”

उहाँका अनुसार भदौ महिनादेखि फागुनसम्म च्याउबाट राम्रो आम्दानी लिन सकिन्छ । गत असोजमा परेको वर्षाका कारण रु एक लाख बरावरको घाटा व्यहोर्नुपरेको उहाँको भनाइ छ । लगातार परेको पानीका कारण बिक्री गर्न नपाएकाले कुहिएर गएको बताउनुहुन्छ । अझ व्यवसायलाई फराकिलो बनाउनका लागि हालसम्म कहिकतैबाट आफूले अनुदान पाए सहज हुने बताउनुभयो । अहिले पनि विचौलियाका कारण वास्तविक किसानले अनुदान नपाउने समस्या रहेको गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments