म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै

गलेश्वर: म्याग्दीका स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो ।

यस वर्ष बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा करिब १३ हजार हेक्टर क्षेत्रफलमा व्यवस्थित रूपमा तरकारी खेती सञ्चालन गरिएको छ ।

विगत वर्षमा सोही क्षेत्रमा तरकारी खेती नहुँदा किनेर उपयोग गर्नुपरेका कारण लाखौँ धनराशि बाहिर जाने गर्दथ्यो । तर केही वर्षयता स्थानीयस्तरमा किसानले उत्पादन गरेको तरकारीले स्थानीय मागलाई परिपूर्ति गर्नुका साथै बढी भएको तरकारी बिक्री वितरण गरी आर्थिक आयआर्जन गर्न पाएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीमा हिउँदे तरकारी खेतीका लागि परिचित पश्चिमी र उत्तरी म्याग्दीका विभिन्न भूभागमा किसानले काउली, ब्रोकाउली, आलु, सिमी, गोलभेँडा र खुर्सानी तरकारी खेती सञ्चालन गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलका अनुसार म्याग्दीका विभिन्न क्षेत्र, क्षेत्रका विभिन्न स्थानमा यसवर्ष गरिएको काउली, बन्दाकाउली, गोलभेँडा र खुर्सानीलगायत विभिन्न खाले तरकारी खेतीबाट करिब रु चार करोड आम्दानी हुने अनुमान गरिएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा उत्पादन भएका तरकारी जिल्ला सदरमुकाम बेनीका साथै गलेश्वर, दरबाङ, तातोपानी, पोखरेबगरलगायत बजारहरूमा बिक्री वितरणका लागि पु¥याइने गरिदै आइएको छ । विगत परम्परागत रुपमा गरिने अन्नबालीको तुलनामा व्यवस्थित रूपमा गरिने तरकारीको खेतीले बढी आम्दानी हुने र जीविकोपार्जनमा सहज हुने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रुपमा अपनाउन नसकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्कमा उल्लेख छ । चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगङ्गा, मालिका, मङ्गला, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँका तीन हजारभन्दा बढी जनता फसल उत्पादन र व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्गै आम्दानी गर्न सफल भएका छन् ।

लाहुरेहरुको जिल्ला भनेर चिनिएको म्याग्दीले पछिल्लो समय उद्यमी र कृषकको जिल्ला भनेर आफ्नो परिचय दिएको छ । दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले बताउनुभयो । एक लाख १३ हजार छ सय ४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरुपमा कृषिमा आश्रित रहेको भए पनि उनीहरूले व्यावसायिक रुपमा उत्पादन गर्न सकेका छैन । सात प्रतिशत जनताले व्यावसायिक रुपमा नै कृषि पेसा अङ्गालेर मनग्गै कमाइ गर्न सफल भएका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाको हिस्तान दोसल्ले, राम्चे, मङ्गला गाउँपालिकाको बाबियाचौर, अर्मन, बरङ्जा, कुँहू, धौलागिरि गाउँपालिकाको ताकम, मालिका गाउँपलिकाको बीम, दरबाङ, ओखरबोट, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, झीँ, पात्लेखेत र बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगालगायत गाउँका अधिकांश जनता कृषिबाट नै आत्मनिर्भर बन्नुका साथै विदेशमा भन्दा राम्रो कमाइ गर्न सफल भएका सम्बन्धित गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरूले बताएका छन् ।

यी गाउँमा व्यावसायिक रुपमा तरकारी र फलफूल खेती गरिएको छ । तरकारीमा आलु, गोलभेडा, साग, लहरे प्रजातिका तरकारी बढी उत्पादन हुने गरेका छन् । जिल्लाका दोसल्ले, बरङ्जा, बिम, भकिम्ली, राखु, बास्कुनालगायत गाउँमा सुन्ताला बेचेर नै वार्षिक रुपमा रु पाँच करोडभन्दा बढी जिल्लामा भित्रिने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसैगरी बेनी नगरपालिका–२ खबराको एउटै गाउँमा केरा बेचेर मात्र गत वर्ष रु ५० लाखभन्दा बढी आम्दानी भएको खबराका अगुवा कृषक शोभित शर्माले जानकारी दिनुभयो । म्याग्दीमा तरकारी र फलफूलबाट वार्षिक रु ४७ करोडभन्दा बढी आम्दानी हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments