‘बगर टू बगैँचा’ : किसान मिलेर बगरमा सामूहिक खेती

महेन्द्रनगर:कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँका रामदल रानाको साँढे चार बिघा जमिन दोदा नदीले कटान ग¥यो । नदीले जमिन बगरमा परिणत गरेपछि केही समय समस्यामा परेका राना अहिले बगरमा बेसार, सुनकागती, अदुवा खेती गरेर मसला उत्पादनमा गर्नुहुन्छ ।

नदीको बगर जोगाउँदै ‘बगर टू बगैँचा’ भन्ने अवधारणा अनुरुप गाउँका किसान मिलेर बेसार उद्योग सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी कटान जोगाउन जैविक तटवन्ध बनाइएपनि अझै पक्की तटबन्ध बनाउन कुनै निकायबाट पहल भएको छैन् ।” वर्षामा बाढीको त्रासदी हुने गरेको खल्लाजाईमा डुबान तथा कटानको प्रमुख समस्या रहेको रानाको भनाइ छ । “अहिले अढाई बिघा जमिन बाँकी छ”, रानाले भन्नुभयो,“गाउँका ३५ जना किसान मिलेर बेसार उत्पादन गरेर बिक्री वितरणमा जुटेका छौँ ।”

अहिले खल्लाजाई क्षेत्रको दोदा नदीमा पर्ने करिब दुई किलोमिटर क्षेत्रफलको बगरमा व्यक्तिगत र सामूहिक बेसार खेती गरिएको छ । “बेसार उत्पादन गरी बिक्रिबाट रु ६० हजार बचत भएकोछ”, स्थानीय अमन रानाले भन्नुभयो,“बेसारसँगै कतिपयले बगरमा उखुखेती समेत गरेका छन् ।”

दोदा किसान समूह सञ्चालनमा ल्याएका राना समुदायका किसानले बगर संरक्षणका साथै आम्दानीको स्रोत बनेकाले बेसारखेती गरिरहेको बताएका छन् । “सुरुमा यहाँ दोदाबाट जोगिन गाउँमा सामुदायिक विपत् व्यवस्थापन समिति बनायौंँ”, रानाले भन्नुभयो,“पछि बगर संरक्षण र आयमूलक काममा पनि अग्रसर हुँदै आयौंँ ।”

दोदा किसान समूहले अहिले १० कठ्ठा बगरमा बेसार, १५ कठ्ठामा कागती खेती गरेको जनाएको छ । समूहका सचिव सिमानन्द रानाले गत वर्ष नौ क्विन्टल बेसार बिक्री गरेको बताउनुभयो । बेसार बेलौरी, धनगढी, अत्तरियाका साथै स्थानीय बजारमा बिक्री गरिदै आएको छ । सचिव रानाले भन्नुभयो,“बगर संरक्षणले डुबान तथा कटानको समस्या पनि अलिकति कम भएको छ”, उहाँले भन्नुभयो, “समूहले गरेको मुनाफा किसानलाई सहुलियत रुपमा ऋण समेत उपलब्ध गराउँदै आएको छ ।”

नगदेबाली भएकाले यहाँ गहुँ, धान भन्दा बेसार खेतीमा किसान बढी आकर्षित हुन थालेको उहाँ बताउनुहुन्छ । बेसार उत्पादनका लागि दाताबाट मेसिनका साथै बीउबिजनसमेत अनुदानमा उपलब्ध भएको सचिव रानाको भनाइ छ ।

कृषि ज्ञान केन्द्र र पालिकाले बेसारको बीउ अनुदानमा उपलब्ध गराएका छन् । यस्तै उत्थान परियोजना अन्तर्गत मेसिन उपलब्ध भएको छ । त्यसैगरी स्थानीय जितबहादुर रानाले समूहमा आवद्ध सबै किसानले बगरमा बेसार खेती गरिरहेको बताउनुभयो । बेसारप्रति क्विन्टल रु २० हजारका दरले गाउँबाट बिक्री भइरहेको छ । उहाँले वर्षामा स्थानीयवासीले सुरक्षित स्थान खोज्दै अस्थायी रुपमा अन्यत्र बस्नुपर्ने बाध्यता कायम रहेको बताउनुभयो ।

“ स–साना पालिकाको बजेटले यत्रो ठूलो दोदाको कटान नियन्त्रणमा सम्भव छैन्”, उहाँले भन्नुभयो, “त्यसका लागि केन्द्र सरकारबाट बजेट आए मात्रै कटान नियन्त्रण सम्भव छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments